२८ चैत्र २०८१, बिहिबार
10 April 2025, Thursday

अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसाेसिएसनको अध्यक्षमा तिवारी निर्वाचित

अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसाेसिएसनको अध्यक्षमा तिवारी निर्वाचित

सिड्नी- अस्ट्रेलियामा क्रियाशिल नेपाली तथा नेपाली मूलका पत्रकारहरूको साझा संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसाेसिएसन (एञ्जा) को अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन्।

फेब्रुअरी २१ र २२ मा अस्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न एन्जाको तेस्रो अधिवेशनबाट तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । कुल ४३ मतमध्ये अध्यक्षका प्रत्यासी तिवारीले २५ मत सहित निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नारायण खड्काले १८ मत प्राप्त गरेका छन्।

त्यस्तै उपाध्यक्षमा २२ मतसहित माधवप्रसाद गैरे निर्वाचित भए भने उनका प्रतिस्पर्धी प्रकाश हुमागाइँले १९ र सीताकुमारी विश्वकर्माले २ मत प्राप्त गरे ।

अध्यक्ष, उपाध्यक्ष र सदस्य पदमा निर्वाचन भए पनि केही पदाधिकारीहरू भने सर्वसम्मत चयन भए । महासचिवमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल, सचिवमा तक्दीर अधिकारी, पब्लिक आफिसरमा कोम खत्री तथा प्रवक्तामा मिलन दाहाल सर्वसम्मत निर्वाचित भएका छन।

अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसाेसिएसन (एञ्जा) का अध्यक्ष कृष्ण तिवारी

सदस्य पदका लागि भएको निर्वाचनमा सरल गुरुङ, विनायक अधिकारी, गोपाल छन्त्याल र केदार रायमाझी निर्वाचित भएका छन् । कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादव, एनआरएनए अध्यक्ष अनिल पोखरेल, एनआरएनए क्षेत्रीय संयोजक दिनेश पोखरेल, तराई समाज अस्ट्रेलियाका अध्यक्ष रञ्जित शाह, नारी निकुञ्जकी राष्ट्रिय संयोजक सङ्गीता चापागाईं लगायतले नयाँ कार्यसमितिलाई बधाई दिँदै प्रवासमा पत्रकारिता गर्दा आचार संहिताको विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

अधिवेशनकै अवसर पारेर एन्जाले प्रत्येक वर्ष वितरण गर्दै आएको एक हजार डलर अस्ट्रेलियन डलर राशिको ‘स्वर्गीय टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार’ पत्रकार सरल गुरुङलाई प्रदान गरिएको छ ।

नेपाल ट्युबका सम्पादक गुरुङ प्रवासी नेपाली समुदायका गतिविधि र कथाहरू सम्प्रेषण गर्दै आएका छन्।

नवनिर्वाचित एन्जा अध्यक्ष तिवारीले सबै पत्रकारसँग सहकार्य गरी अगाडि बढ्ने जानकारी दिए।

यस्तै एन्जाका संरक्षक एवम् संस्थापक हेमन्त काफ्‌लेले नयाँ निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाली समुदाय र नेपालीहरूको पक्षमा सशक्त भएर कलम चलाउन आग्रह गरे।

क्यानबेराबाट राजु अधिकारी, भिक्टोरियाबाट प्रकाश आचार्य र आइटीमा आशिष सापकोटा सम्मिलित निर्वाचन कमिटीले अनलाइन मतदान गराएको थियो ।

अधिवेशनपछि आयोजना गरिएको कार्यक्रममा निवर्तमान अध्यक्ष चिरञ्जीवी देवकोटाले नवनिर्वाचित अध्यक्ष तिवारीलाई कार्यभार हस्तान्तरण गरे। तिवारी अस्ट्रेलियाबाट सन् २०१३ बाट प्रकाशित हुँदै आएको नेपाल न्युज अस्ट्रेलियाको संस्थापक सम्पादक हुन र हाल यो मिडिया अनलाइन न्युज पोर्टलको रूपमा सञ्चालनमा छ।