२८ फाल्गुन २०८२, बिहिबार
12 March 2026, Thursday

सुडानमा सैनिक विमान दुर्घटना, १० जनाको मृत्यु

सुडानमा सैनिक विमान दुर्घटना, १० जनाको मृत्यु

न्युयोर्क – सुडानको राजधानी खार्तुमको बाहिरी क्षेत्र वादी सेद्ना एयर बेस नजिकै मङ्गलबार सैनिक विमान दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा केही अधिकारी तथा नागरिकको मृत्यु भएको सुडानी सेनाले जनाएको छ।

सेनाले जारी गरेको विज्ञप्ति अनुसार, विमान उडानका क्रममा दुर्घटनामा परेको हो। “घाइतेहरूलाई अस्पताल लगिएको छ भने दुर्घटनास्थलमा लागेको आगो नियन्त्रणमा ल्याइएको छ,” सेनाले उल्लेख गरेको छ।

फ्रान्सेली समाचार संस्था एएफपीलाई एक सैन्य स्रोतले दिएको जानकारी अनुसार, सो एन्तोनोभ विमान दुर्घटना प्रविधिगत गडबडीका कारण भएको हो।

यसैबीच, करारी प्रतिरोध समितिले अल-नाओ अस्पतालमा १० शव तथा घाइतेहरू लगिएको जनाएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार, विमान खस्दा वरपरका घरहरूमा क्षति पुगेको छ भने केही क्षेत्रमा विद्युत् आपूर्ति समेत अवरुद्ध भएको छ।

घटनाको एक दिनअघि, अर्धसैनिक समूह ‘र्यापिड सपोर्ट फोर्सेस’ (RSF) ले दक्षिण दार्फरको राजधानी न्यालामा सेनाको लडाकु विमान खसालेको दाबी गरेको थियो। RSF ले मङ्गलबार जारी गरेको विज्ञप्तिमा रुसी निर्माणको इल्यूशिन विमान नष्ट गरिएको दाबी गरेको छ।

सन् २०२३ को अप्रिलदेखि सुडानी सेनापति अब्देल फताह अल-बुरहान र उनका पूर्व सहायक तथा RSF प्रमुख मोहम्मद हमदान दागलोबीच तीव्र सत्ता सङ्घर्ष चलिरहेको छ। यस द्वन्द्वका कारण हालसम्म दशौँ हजार मानिसले ज्यान गुमाइसकेका छन् भने सुडान विश्वकै सबैभन्दा गम्भीर मानवीय संकट झेलिरहेको संयुक्त राष्ट्रसंघ (UN) ले जनाएको छ।