२८ चैत्र २०८१, बिहिबार
10 April 2025, Thursday

कोरियामा नेपाली युवकको ‘आत्महत्या’पछि बाँकीले पनि कम्पनी छोड्दै

कोरियामा नेपाली युवकको ‘आत्महत्या’पछि बाँकीले पनि कम्पनी छोड्दै

न्युयोर्क- दक्षिण कोरियास्थित एउटा बङ्गुर फार्ममा कार्यरत एक नेपाली युवकले “आत्महत्या” गरेको भनिएको घटनापछि विदेशमा रहेका नेपालका श्रमिकहरूको सुरक्षाबारे एक पटक फेरि चिन्ता एवं चासो व्यक्त भइरहेको छ।

त्यहाँ कार्यरत बाँकी नेपाली कामदारले सो घटनापछि काम गर्न नचाहेको बताएपछि सोलस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई अन्यत्र जान दिन रोजगारदाता कम्पनी सहमत भएको अधिकारीहरूले बीबीसीलाई बताएका छन्।

“एकैचोटि सबै कामदारले छोड्दा बङ्गुर फार्म नै समस्यामा पर्ने भन्दै त्यसका साहु चरणबद्ध रूपमा नेपालीहरूलाई कम्पनी छोड्न दिन सहमत भएका हुन्,” राजदूत शिवमाया तुम्बाहाम्फेले बीबीसी न्यूज नेपालीसँग टेलिफोनमा भनिन्।

सहमतिबमोजिम दुई साताभित्र नेपाली कामदारहरूले उक्त कम्पनी छोडिसक्ने दूतावासले जनाएको छ।

नेपाली श्रमिकहरूका लागि दक्षिण कोरिया एउटा आकर्षक गन्तव्य मुलुकका रूपमा रहिआएको छ।

दक्षिण कोरियाको छल्लानाम्दो मोक्पोस्थित ‘वूसङ्ग पिग फार्म’ मा कार्यरत युवकको मृत्युको घटनापछि तीनजना त्यहाँबाट ‘रिलीज लेटर’ लिएर निस्किसकेका राजदूत तुम्बाहाम्फेले बताइन्।

“तीनजना बहिनीसहित अब १५ जना भाइहरू हुनुहुन्छ। पालोपालो उहाँहरू त्यहाँबाट निस्कनुहुन्छ,” उनले थपिन्।

म्याग्दीका २८ वर्षीय तुलसी पुन मगरलाई शनिवार मृत अवस्थामा फेला पारिएको सोलस्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूत तुम्बाहाम्फेले बीबीसीलाई बताएअनुसार मगरले ‘आत्महत्या गरेको’ कोरियाली प्रहरीको रिपोर्टमा उल्लेख छ।

“…त्यहाँ कार्यरत अन्य नेपाली कामदारहरूले त्यस कम्पनीमा काम गर्दा अत्यधिक शारीरिक तथा मानसिक तनाव झेल्नुपरेको र आफूहरूले सो कम्पनीको काममा निरन्तरता दिन नचाहेको बताएका थिए,” राजदूतावासले बुधवार जारी गरेको एउटा वक्तव्यमा उल्लेख छ।

घटनापछि दूतावासले वस्तुस्थिति बुझ्न श्रम काउन्सिलर मैया कँडेलसहितको एउटा टोलीलाई उक्त कम्पनी पठायो जुन टोलीले त्यहाँ कार्यरत बाँकी नेपाली, कम्पनीका म्यानेजर र मालिक लगायतसँग जानकारी लियो।

“त्यसपछि हामीले आइन्दा त्यस्ता घटना हुन नदिनेतर्फ सचेत पनि गराएका छौँ,” राजदूत तुम्बाहाम्फेले भनिन्।

मृतकको शव शुक्रवार नेपाल पठाउने प्रक्रिया अगाडि बढाइएको दूतावासले जनाएको छ।