प्रेस चौतारी नेपाल बागमती प्रदेशको उपाध्यक्षमा प्रज्वल पौडेल निर्वाचित
- १२ फाल्गुन २०८१
- १ मिनेटको पढाई
काठमाडौं – प्रेस चौतारी नेपाल बागमतीको उपाध्यक्षमा पत्रकार प्रज्वल पौडेल निर्वाचित भएका छन्। चौतारीको बागमती प्रदेश समितिको दोस्रो अधिवेशन (२०८१ फागुन ११ गते)मा रामेछापका पत्रकार पौडेल उपाध्यक्षमा निर्वाचित भएका हुन्। यस अगाडि उनी बागमती प्रदेशको पहिलो अधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित भएका थिए।
प्रेस चौतारी नेपालमा लामो समयदेखि आबद्ध रहेका पौडेल जिल्ला शाखा रामेछापमा दुई कार्यकाल सहसचिवमा निर्वाचित भएका थिए। नेपाल पत्रकार महासंघ रामेछापका सदस्यसमेत रहेका पौडेल नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यसमिति सदस्यमा समेत निर्वाचित भएका छन्। विगत १५ वर्षदेखि पत्रकारिता सक्रिय पौडेल हाल अन्नपूर्ण पोस्ट् अनलाइनको डेक्समा रहेर पत्रकारिता गरिरहेका छन्।
को-को भए निर्वाचित ?
यसैगरी प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्षमा तिलकराम रिमाल निर्वाचित छन्। समितिको खुल्ला उपाध्यक्षमा प्रज्वल पौडेल, महिला उपाध्यक्षमा तारा बस्नेत र महासचिवमा प्रकाश दाहाललाई सर्वसम्मत चयन गरिएको छ ।
अधिवेशनबाट सचिवमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक कोइराला र समावेशी सचिवमा नवराज श्रेष्ठ र जगमान तामाङ चयन भएका छन्। उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लाका प्रतिनिधि रहेका अधिवेशनले आगामी तीन वर्ष रहेको छ।