हिम्मत छ भने काबुल आऊ ट्रम्प : तालिबान
- १८ फाल्गुन २०८१
- २ मिनेटको पढाई
काबुल : अफगानिस्तानको तालिबान सरकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई हिम्मत भए काबुल आएर हतियार लैजान धम्की दिएको छ। उसले अमेरिकाको हतियार फिर्ता नगर्ने स्पष्ट पारेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले छोडेका हतियार फिर्ता ल्याउने कुरा गरेपछि तालिबानले उक्त प्रतिक्रिया दिएको हो। सन् २०२१ मा तालिबान काबुलतर्फ अघि बढेपछि अमेरिकी सेनाले अफगानिस्तान छोडेर हिँडेको थियो। यो अवधिमा अफगानिस्तानमा ठूलो संख्यामा अमेरिकी हतियार छुटे। ट्रम्पले यसै वर्ष जनवरीमा अमेरिकामा फेरि सत्ता सम्हालेपछि यी हतियार फिर्ता गर्ने कुरा गरेका छन्। ट्रम्पको यस्तो मागका कारण तालिबान आक्रोशित छन्।
अफगानिस्तानको मीडियाका अनुसार सेना प्रमुख कारी फसिहुद्दिन फितरतले ट्रम्पलाई जवाफ दिँदै भने, ‘यदि तिमीसँग हिम्मत छ भने अफगानिस्तान आएर आफ्नो हतियार फिर्ता लैजाऊ।’
यसअघि अफगान सरकारका प्रवक्ता जबिहुल्ला मुजाहिदले पनि ट्रम्पलाई यस्तै चुनौती दिएका थिए। मुजाहिदले यी हतियार अब अफगानिस्तानको भएको बताएका थिए। तालिबानले युद्ध जितेकाले ती हतियार अफगानिस्तानका भएको स्पष्ट पार्दै अमेरिकालाई फिर्ता नगर्ने जानकारी दिएका छन्।
अमेरिकी रक्षा विभागको प्रतिवेदनअनुसार अमेरिकी सेना फिर्ता हुँदा करिब ७ अर्ब अमेरिकी डलर बराबरको सैन्य उपकरण अफगानिस्तानमा छुटेको थियो। सन् २००५ देखि अगस्ट २०२१ सम्म अमेरिकाले अफगान राष्ट्रिय रक्षा र सुरक्षाबललाई १८ अर्ब ६० करोड डलर बराबरको उपकरण उपलब्ध गराएको थियो।
अमेरिकी सेनाले अगस्ट २०२१ मा अफगानिस्तान छोड्यो। यो अवधिमा अमेरिका समर्थित अफगान सेनाले केही हेलिकप्टर छिमेकी मुलुकमा अवतरण गरे पनि ठूलो संख्यामा हतियार अफगानिस्तानमै रह्यो।
अमेरिकी राष्ट्रपति र तालिबानबीच हतियारको विवाद अमेरिका र अफगानिस्तानबीच भएको दोहा सम्झौताको पाँचौँ वार्षिकीअघि आएको हो। यो सम्झौता फेब्रुअरी २९, २०२० मा हस्ताक्षर भएको थियो। यो सम्झौताअनुसार अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको थियो। अहिले अफगानिस्तानमा छाडिएको अमेरिकी सैन्य उपकरणको विवाद दुवै पक्षमा चर्किरहेको छ।
ट्रम्पले अफगानिस्तानमा रहेको अमेरिकी सेनाको सबैभन्दा ठूलो हवाई अड्डा बगरामबारे पनि बयान दिएका छन्। ट्रम्पले बगराम हवाइ अखडा चीनको कब्जामा रहेको र त्यसलाई फेरि आफ्नो नियन्त्रणमा लिने बताएका छन्।
यो हवाई अड्डा रणनीतिक रूपमा निकै महत्त्वपूर्ण छ। यस्तो अवस्थामा बगराम हवाइ अखडा पनि यो तालिबान र अमेरिकाबीचको तनावको मुद्दा पनि बन्न सक्छ।