न्युयोर्क-एलन मस्क नेतृत्वको सरकारी कार्यक्षमता विभागले कम्तीमा एक संघीय निकायसँग आफ्नो सेवाको लागि लाखौं डलर शुल्क लिन खोजेको छ।
एक प्रारम्भिक सम्झौता मस्यौदा DOGE ले संयुक्त राज्य अमेरिका कर्मचारी व्यवस्थापन कार्यालयलाई २०२६ जनवरी २० देखि जुलाई ४ सम्मको अवधिका लागि २० पूर्णकालीन कर्मचारीहरूको लागत तिर्न आग्रह गरेको छ। उक्त सम्झौता अनुसार, कुल लागत ४ मिलियन डलर (करिब ५३ करोड नेपाली रुपैयाँ) भन्दा बढी हुन्छ।
DOGE ले OPM को प्रणालीलाई आधुनिकीकरण गर्ने योजना बनाएको छ। मस्यौदामा उल्लेख गरिएअनुसार, OPM लाई छिटो र व्यापक डिजिटल सुधारको आवश्यकता रहेको छ, जुन OPM एक्लैले सम्भव गर्न नसक्ने दाबी गरिएको छ। सम्झौताले DOGE लाई OPM को डेटा तथा प्रणालीमा पहुँच दिने व्यवस्था समेत गरेको छ।
DOGE र मस्कले यो योजना करदाता बचतका लागि भएको बताएका छन्, तर आलोचकहरूले संघीय कर्मचारीहरूलाई हटाउने र संवेदनशील सरकारी डाटामा पहुँच बनाउने प्रयास भन्दै आलोचना गरेका छन्। DOGE ले अन्य संघीय निकायहरूसँग पनि शुल्क लिएको छ वा छैन भन्ने विषय स्पष्ट भइसकेको छैन।
DOGE को बजेट र सञ्चालनबारे धेरै जानकारी बाहिर आएको छैन तर यो कार्यकारी कार्यालय अन्तर्गत रहेको हुँदा संघीय सार्वजनिक अभिलेख ऐन को दायराभित्र पर्दैन। ह्वाइट हाउसले मस्क DOGE को प्रशासक नभएको तर राष्ट्रपति डोनाल्ड ट्रम्पको सल्लाहकार मात्र भएको स्पष्ट पार्न खोजेको छ। मस्कको भूमिका कार्यकारी विशेषाधिकार अन्तर्गत रहेको बताइएको छ।
मस्यौदा सम्झौतामा OPM ले प्रत्येक महिनाको शुल्क अग्रिम भुक्तानी गर्नुपर्ने उल्लेख छ। यद्यपि, यदि DOGE ले कम काम गरेमा केही रकम फिर्ता गर्ने प्रावधान पनि राखिएको छ। हालसम्म कुनै भुक्तानी गरिएको छ वा छैन भन्ने स्पष्ट छैन।
डोनाल्ड ट्रम्पले मस्कलाई आफ्नो प्रशासनमा “विशेष सरकारी कर्मचारी” को रूपमा नियुक्त गरेका थिए। मस्कले ट्रम्पको पहिलो मन्त्रिपरिषद्को बैठकमा समेत भाग लिएका थिए। DOGE ले संघीय खर्च कटौती गर्ने प्रयास गरिरहेको छ, जसले धेरै विवाद सिर्जना गरेको छ र कानुनी लडाइहरू निम्त्याएको छ।
DOGE को खर्च करदाताबाट कति उठाइरहेको छ भन्ने अझै स्पष्ट भइसकेको छैन। यसअघि अमेरिकी डिजिटल सेवाको नाममा रहेको यो विभागलाई ट्रम्पले आफ्नो पहिलो कार्यकारी आदेशमार्फत DOGE नामकरण गरेका थिए।
मस्कले आफू स्वयंसेवक भएको बताएका छन्, तर DOGE का अधिकांश कर्मचारीहरूको भूमिका अस्पष्ट छ।
“केही कर्मचारी संघीय कर्मचारीहरू हुन्,” मस्कले एक अन्तर्वार्तामा भनेका थिए। “DOGE का सफ्टवेयर इन्जिनियरहरूले निजी कम्पनीमा काम गर्दा लाखौं डलर कमाउन सक्थे, तर अहिले संघीय कर्मचारीको रूपमा थोरै मात्र तलब पाइरहेका छन्।”
मस्यौदा सम्झौतामा संघीय तलब श्रेणीको उच्च श्रेणी १५ को पाचौं तहअनुसार कर्मचारीहरूको तलब निर्धारण गरिएको छ। सन् २०२५ को OPM अपडेटअनुसार, यो आधारभूत वार्षिक तलब $१४१,८१७ छ, तर स्थानअनुसार वृद्धि हुनसक्छ। वाशिङ्टन डीसी क्षेत्रमा यो $१८९,९५० पुग्छ।
साढे १७ महिनासम्म २० पूर्णकालीन कर्मचारीहरूको तलब आधारभूत दरमा गणना गर्दा कुल लागत करिब ४.१ मिलियन डलर पुग्नेछ।
“कतिपयलाई लाग्न सक्छ, तिनीहरू निःशुल्क काम गरिरहेका छन्। तर होइन, हामी तिर्दैछौं,” OPM का एक कर्मचारीले भने। “यो कुनै ठेकेदार कम्पनीसँग सम्झौता गरेजस्तै हो, तर यो जबरजस्ती लादिएको छ, जसले गर्दा हामीले उनीहरूको सेवा लिन बाध्य हुनुपरेको छ।”