न्युयोर्क- प्रत्येक वर्ष मार्च ८ का दिन गर्विलो नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस अर्थात् महिला श्रमिक दिवस मनाइन्छ। यस वर्ष “Accelerate Action” for gender equality भन्ने सन् २०२५ का लागि चयन गरिएको नाराका साथ नारी दिवस विश्वभर मनाइँदैछ। सरकारी तथा गैरसरकारी संस्थाहरूले दिवस मनाउने तयारी व्यापक रूपमा गरेका छन्।
हामीले कुनै पनि कार्य गर्दा त्यसको इतिहासलाई स्मरण गर्नुपर्ने हुन्छ। मानव सभ्यताको शुरुवातदेखि नै महिलाहरूले पुरुषसरह काम गर्दै आएका छन्, तर काम गरेबापतको ज्याला पुरुषको तुलनामा ज्यादै कम पाउने र पुरुषले भन्दा धेरै घण्टासम्म काम गर्नुपर्ने हुँदा आफूहरू शोषित भएको महसुस गरी सन् १९०० देखि नै महिलाहरूले आफ्नो अधिकारका लागि आवाज उठाउन थालेका थिए।
नारी सशक्तिकरणको अभियानलाई अगाडि बढाउँदै जाँदा विश्वका महिलाहरू आज यो अभियानमा धेरै अगाडि बढिसकेका छन्। तर नेपाली महिलाहरू भने आज पनि घरेलु हिंसा, बलात्कार, हत्या, आत्महत्या, दाइजो प्रथा जस्ता जघन्य अपराध र कुरीतिको घेराबाट बाहिर निस्कन सकेका छैनन्। नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली महिलाहरू पनि यस्ता अपराधबाट छुट्कारा पाउन नसकेको कुरा बेलाबेलामा सुन्दै आएका छौँ। केही वर्षअघि हाम्रो छोरीचेलीहरूलाई विभिन्न बहानामा जलाउने र झुन्ड्याउने गरिन्थ्यो भने आजकल स्वयं जल्ने र झुन्डिने घटना दिनहुँ जस्तो घटिरहेको छ। हामी सामाजिक सञ्जालबाट हार्दिक श्रद्धाञ्जली दिएर आफ्नो कर्तव्य पूरा गरेको ठान्छौँ। किनभने हिंसामा परेको छोरीलाई हाम्रो समाजले बाँच्नुभन्दा मर्नु ठीक मान्छ।
हिंसामा परेका छोरीहरूको आत्मबल कम भई आत्महत्या गर्नुमा समाजका हामी सबै दोषी छौँ। यस्ता घटनामा परेका छोरीहरूलाई आत्मबल बढाउन आवश्यक परामर्श (काउन्सेलिङ) गर्नुको सट्टा दोष देखाई मनोबल कम गराउने काम हामीले नै गरिरहेका छौँ। सोचौँ, आज अरू कसैको घरमा घटेको घटना भोलि हाम्रो घरमा पनि घट्न सक्छ किनकि हरेक घरमा कुनै न कुनै रूपमा नारी हुन्छन्। तसर्थ, नारीप्रतिको सोच बदल्न जरुरी छ।
हालसालै अमेरिका, अस्ट्रेलिया, र भारतमा भएका केही हृदयविदारक घटनामा चन्द्रमाया पौडेल रिमाल, ममता काफ्ले, मुना पाण्डे, कृति थापा, र प्रकृति लम्साल जस्ता नेपाली छोरीचेलीहरूले हिंसामा परेर आत्महत्या गरेका छन्। यी घटनाहरूमा आफ्नै नजिकका पार्टनर वा आफन्तबाट प्रताडित भएको कारण देखिएको छ।
११५औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा पनि महिलाहरूलाई नेतृत्व तहमा र निर्णायक भूमिकामा सहर्ष स्वीकार गर्न नसकिएको अवस्था छ। नेतृत्व तहमा रहेका केही महिलाहरू पनि राजनीतिक आस्था, जातीय आधार, र अन्य विभाजनकारी कुराले विभाजित भएका छन्।
तसर्थ, लैंगिक समानताको लागि अझै पाँच पुस्ता निरन्तर यो अभियानमा लाग्नुपर्ने एक सर्वेक्षणले देखाएको छ। यो अभियानलाई समर्थन गर्न सभा सम्मेलन मात्र नभई घरबाटै सुरु गर्नुपर्छ। महिलाहरूले महिलाको सम्मान गर्दै समाज परिवर्तनका लागि हातेमालो गर्दै अगाडि बढ्नुपर्छ। व्यक्तित्व विकासको कमी भएमा विभिन्न तालिमहरू लिएर सशक्तिकरणको मार्गमा हिँड्न महिलाहरू हिच्किचाउनु हुँदैन। महिला दिदीबहिनीहरूलाई नेतृत्व तहमा ल्याउन पुरुष दाजुभाइहरूले पनि सहज वातावरण प्रदान गर्नुपर्छ र मानसिक रूपमा परिवर्तन हुनु आवश्यक छ।
जुन घर, समाज, र देशमा महिलाको सम्मान हुँदैन, त्यहाँ हिंसा र द्वन्द्व हुन्छ। त्यस्तो घर, समाज, र देश कहिल्यै सम्पन्न र सफल हुन सक्दैन।
११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सबैलाई शुभकामना।