२३ चैत्र २०८१, शनिबार
5 April 2025, Saturday

आईसीई र अन्तर्राष्ट्रिय साझेदारद्वारा ‘अप्रेसन रिन्यूड होप III’ सम्पन्न, बाल यौन शोषणका पीडित पहिचान र उद्दार

आईसीई र अन्तर्राष्ट्रिय साझेदारद्वारा ‘अप्रेसन रिन्यूड होप III’ सम्पन्न, बाल यौन शोषणका पीडित पहिचान र उद्दार

वासिङ्टन — अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) ले अन्तर्राष्ट्रिय कानूनी निकायहरूसँग सहकार्य गर्दै अनलाइन बाल यौन शोषण तथा दुर्व्यवहारका पीडित पहिचान गर्न ‘अप्रेसन रिन्यूड होप III’ सञ्चालन गरेको छ। फेब्रुअरी २४ देखि मार्च ७ सम्म सञ्चालन भएको यस अपरेशनमा ३६ बाल पीडितको पहिचान तथा उद्दार गरिएको छ भने ३८० भन्दा बढी अनुसन्धानसम्बन्धी सुराकीहरू फेला परेका छन्।

आईसीई होमल्याण्ड सेक्युरिटी अनुसन्धान (HSI) टोलीले २१६ गिगाबाइट डेटा, जुन करिब ११५ घण्टा लामो भिडियो फुटेजबराबर हुन्छ, विश्लेषण गरेको थियो। यस सामग्रीमा बाल यौन शोषणसम्बन्धी पहिला फेला नपरेका सयौं तस्बिर तथा भिडियोहरू समेटिएका थिए। अनुसन्धानकर्ताहरूले बाल पीडित र अपराधीहरू पहिचान गर्दै कानूनी कारबाहीका लागि सम्बन्धित निकायहरूलाई अनुसन्धान सामग्री प्रदान गरे।

डीएचएस साइबर अपराध केन्द्रका उपसहायक निर्देशक माइक प्राडोले भने, “बाल शोषण एक गम्भीर विश्वव्यापी समस्या हो जसलाई समाधान गर्न एकीकृत तथा समन्वित प्रयास आवश्यक छ। हामी पीडितहरूको उद्दार, अपराधीहरूको पहिचान तथा न्याय दिलाउन प्रतिबद्ध छौँ।”

यस अपरेशन अन्तर्गत २५१ अन्तर्राष्ट्रिय र १३५ अमेरिकी अनुसन्धान सुराकीहरू फेला परेका थिए, जसमा अपराधीहरू प्रयोग गर्ने अनलाइन प्लेटफर्महरू जस्तै वेबसाइट, इमेल, च्याटरूम, फाइल सेयरिङ एप्समार्फत अपराध गरिएको प्रमाणहरू संकलन गरियो। यी सुराकीहरूलाई इन्टरपोलको अन्तर्राष्ट्रिय बाल यौन शोषण डाटाबेससँग तुलना गरी ४७ विभिन्न देशहरूलाई अनुसन्धान सहायता प्रदान गरिएको थियो।

यस अपरेशनमा आईसीई एचएसआई विशेष एजेन्ट, पीडित पहिचान विशेषज्ञहरू, कम्प्युटर फरेन्सिक विश्लेषकहरू, तथा अपराध विश्लेषकहरू संलग्न थिए। यसका अतिरिक्त, निम्न संस्थाहरूले पनि सहकार्य गरेका थिएः

– राष्ट्रिय हराएका तथा शोषित बाल केन्द्र (NCMEC)
– अन्तर्राष्ट्रिय हराएका तथा शोषित बाल केन्द्र (ICMEC), टिम टेबो फाउन्डेसनसँगको साझेदारीमा
– न्याय विभागको बाल शोषण तथा अश्लीलता विभाग
– थोमसन रोयटर्स विशेष सेवा
– एफबीआई
– नर्दन भर्जिनिया इन्टरनेट अपराध टास्क फोर्स

यस अपरेशनमा अष्ट्रेलिया, बेल्जियम, ब्राजिल, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, नर्वे, स्पेन, थाइल्यान्ड, युके्रन, युकेसहित २८ विभिन्न देशका विशेषज्ञहरू पनि संलग्न थिए।

यस अपरेशनको सफलताबारे बोल्दै प्राडोले भने, “यस अपरेशनले अन्तर्राष्ट्रिय सहकार्यको शक्ति देखाएको छ। अपराधीहरूलाई कारबाही गर्दै पीडितहरूलाई न्याय दिलाउने हाम्रो अभियानलाई अझ प्रभावकारी बनाएको छ।”

आईसीई एचएसआई अनलाइन बाल यौन शोषण अनुसन्धानमा विश्वव्यापी अग्रणी निकाय मानिन्छ। वित्तीय वर्ष २०२४ मा यसले १,७८३ बाल पीडितको पहिचान वा उद्दार, ६,९३९ नयाँ अनुसन्धान तथा ४,९५९ अभियुक्तको पक्राउ सुनिश्चित गरिसकेको छ।