८ बैशाख २०८२, सोमवार
21 April 2025, Monday

वासिङटन हाइट्समा तीन-अलार्म आगलागी, छ जना घाइते

वासिङटन हाइट्समा तीन-अलार्म आगलागी, छ जना घाइते

न्युयोर्क- न्युयोर्क सिटीको वासिङटन हाइट्स क्षेत्रमा बुधबार राति भीषण आगलागी हुँदा छ जना घाइते भएका छन्। न्यूयोर्क सिटी फायर डिपार्टमेन्ट (FDNY) का अनुसार, आगलागी ६५ फोर्ट वाशिंगटन एभेन्यूस्थित आवासीय भवनमा बेलुका ७ बजे सुरु भएको थियो।

तीन तलासम्म फैलिएको आगलागी नियन्त्रण गर्न १३८ जना दमकलकर्मी तथा आपतकालीन सेवाका कर्मचारी खटिएका थिए। दमकलकर्मीहरूले करिब डेढ घण्टाको प्रयासपछि राति ८:३३ बजे आगो नियन्त्रणमा लिन सफल भएका थिए।

यो घटनामा चार जना दमकलकर्मी र दुई जना सर्वसाधारण घाइते भएका छन्। FDNY का अनुसार, उनीहरूको चोट गम्भीर भने छैन।

हालसम्म आगलागीको कारण सार्वजनिक गरिएको छैन। स्थानीय प्रशासन र दमकल विभागले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।