१ असार २०८२, आइतवार
15 June 2025, Sunday

लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल दूतावासको सम्पर्कमा

लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल दूतावासको सम्पर्कमा

बेलायत- लन्डनबाट बेपत्ता नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिनापछि नेपाली दूतावासको सम्पर्कमा आएका छन। गत फेब्रुअरी २ देखि सम्पर्कविहीन २३ वर्षीय अधिकारी सकुशल फेला परेकाे लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए।

उनले भने, “इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिएर बसिरहेको अवस्थामा कमलसँग सम्पर्क भएको छ । उनी सम्पर्कमा आएसँगै नेपालस्थित उनको परिवारलाई खबर गरेका छौँ, उनीहरुकै आग्रहमा नेपाल फिर्ता पठाउने तयारी सुरु भइसकेको छ ।”

दूतावाससँग कमल स्वयम्ले पनि नेपाल फर्कने इच्छा देखाएको दुवाडीको भनाइ छ । उनको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको र पासपोर्ट बेलायतको होमअफिसमा रहेको दूतावासले जनाएको छ ।

लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमललाई घरबेटीले निकालिदिएपछि सडकमा पुग्नुपरेको थियो । त्यसपछि उनी लन्डनबाटै सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो ।

कमल हराएको सूचना पाएलगत्तै लन्डनस्थित नेपाली दूतावासले लन्डन मेट्रोपोलिटन प्रहरीलाई खबर गरेर खोजीका लागि आग्रह गरेको थियो । धनुषाको हंसपुर–६ का अधिकारी सन् २०२२ मा अध्ययनका लागि बेलायत आएका थिए ।