ब्रोंक्समा भीषण आगलागी, ठूलो धुँवाको मुस्लो आकाशमा देखियो
- २९ फाल्गुन २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- ब्रोंक्समा बिहीबार बिहान भीषण आगलागी भएको छ, जसबाट उठेको बाक्लो धुँवाको मुस्लो माइलौं टाढासम्म देखिएको छ।
२०३७ जेरोम एभेन्यु र वेस्ट बर्नसाइड एभेन्युस्थित आगलागी नियन्त्रणका लागि न्यूयोर्क सिटी फायर डिपार्टमेन्ट (FDNY) का अग्निनियन्त्रकहरू खटिएका छन्। चोप्पर ४ बाट लिइएका दृश्यहरूमा घटनास्थलमा ठूलो मात्रामा दमकल र उद्धारकर्मी परिचालित भएको देख्न सकिन्छ।
हालसम्म कुनै पनि घाइतेको खबर प्राप्त नभएको FDNY ले जनाएको छ। आगलागीका कारण त्यहाँ रहेका थुप्रै व्यवसायहरूमा ठूलो क्षति पुगेको छ।
न्युयोर्क सिटी आपतकालीन अधिकारीहरूले स्थानीय बासिन्दाहरूलाई धुँवाबाट जोगिन र झ्याल ढोका बन्द गर्न आग्रह गरेका छन्।
निकटवर्ती क्षेत्रमा यातायात प्रभावित भएको छ। आगलागी स्थल बर्नसाइड एभेन्युस्थित नम्बर ४ सबवे स्टेसनको नजिकै भएकाले मेट्रो ट्रेनहरू दुवै दिशामा सुचारु रहे पनि ढिलाइ भइरहेको मेट्रोपोलिटन ट्रान्सपोर्टेशन अथोरिटी (MTA) ले जनाएको छ।
आगलागीको कारण भने अझै खुलाइएको छैन, अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।