न्यू जर्सीमा १९० एकड क्षेत्र जलेपछि वनडढेलो पूर्ण रूपमा नियन्त्रणमा
- २९ फाल्गुन २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- न्यू जर्सीको ग्लूसेस्टर काउन्टीमा भीषण वनडढेलो फैलिएपछि दर्जनौँ भवन, सहित एक प्राथमिक विद्यालयसमेत जोखिममा परेको थियो।
न्यू जर्सी फरेस्ट फायर सर्भिसका अनुसार “स्कटल्यान्ड रन वाइल्डफायर” नाम दिइएको उक्त आगलागी फ्र्याङ्कलिन टाउनशिपको पेनसिलभानिया एभेन्यु र प्रपोज्ड एभेन्यु आसपास बुधबार, मार्च १३, २०२५ मा सुरु भएको थियो।
फायर अधिकृतहरूले बिहीबार, मार्च १४, २०२५ बिहान उक्त वनडढेलो १०० प्रतिशत नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन्। आगलागीले १९० एकडभन्दा बढी क्षेत्र जलाएको थियो।
सुरुमा आगलागीका कारण ६० वटा संरचना जोखिममा परेका थिए। तर, स्वयंसेवी अग्नि नियन्त्रकहरूको सहयोगमा ती संरचनाहरूलाई सुरक्षित राख्न सकिएको अधिकारीहरूले जनाएका छन्।
यस वर्ष न्यू जर्सी फरेस्ट फायर सर्भिसले राज्यभरि ३५० भन्दा बढी वनडढेलोको सामना गरिसकेको छ।
स्कटल्यान्ड रन वाइल्डफायरको कारण भने हालसम्म खुलाइएको छैन, अनुसन्धान जारी रहेको छ।