२३ चैत्र २०८१, शनिबार
5 April 2025, Saturday

एलन मस्कको गोप्य भेट: साइबर जासूसी सुधारको आह्वानपछि एनएसएका प्रमुखसँग छलफल

एलन मस्कको गोप्य भेट: साइबर जासूसी सुधारको आह्वानपछि एनएसएका प्रमुखसँग छलफल

न्युयोर्क- अमेरिकी साइबर जासूसी एजेन्सी नेशनल सेक्युरिटी एजेन्सी (NSA) लाई सुधार गर्नुपर्ने भन्दै सार्वजनिक टिप्पणी गरेपछि एलन मस्कले बुधबार NSA मुख्यालयमा गोप्य भ्रमण गरेका छन्।

मस्कले NSA प्रमुख जनरल टिमोथी हग सँग भेटवार्ता गरेका छन्। स्रोतका अनुसार उनी NSA को रिमोट अपरेसन सेन्टर समेत घुमेका थिए।

गत साता मस्कले आफ्नो सोशल मिडिया X (पूर्व Twitter) मा लेखेका थिए, “NSA needs an overhaul” (NSA लाई सुधार गर्नुपर्छ)। उनको टिप्पणीपछि अचानक NSA भ्रमणले अमेरिकी गुप्तचर एजेन्सीहरूमा ठूलो परिवर्तन आउनसक्ने संकेत देखिएको छ।

NSA अमेरिकी सरकारको सबैभन्दा गोप्य र शक्तिशाली साइबर जासूसी निकाय हो, जसले विस्तृत निगरानी, कोड ब्रेकिंग र साइबर सुरक्षा कार्यहरू संचालन गर्छ।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले NSA लगायतका खुफिया एजेन्सीहरूमा ५% देखि ८% कर्मचारी कटौती गर्ने योजना अघि बढाइरहेको छ।

रक्षा सचिव पीट हेगसेथ को निर्देशनअनुसार कम प्राथमिकताका पदहरू हटाउने र कर्मचारीलाई जल्दी अवकाश वा भुक्तानीसहितको बहिर्गमन प्याकेज दिन सक्ने उल्लेख छ।

CIA ले पछिल्ला दुई वर्षमा नियुक्त गरिएका केही कर्मचारीहरू हटाउन थालिसकेको NBC News ले जनाएको छ। त्यस्तै, नेशनल जियोस्पेशियल-इन्टेलिजेन्स एजेन्सी (NGA) का प्रमुखले पनि कर्मचारी कटौतीको विषयमा चासो देखाएका छन्।

मस्कको NSA भ्रमण र कर्मचारी कटौती योजनाबीच सम्बन्ध रहेको हुनसक्ने अनुमान गरिएको छ।

तर, अमेरिकी अधिकारीहरूले यो विषयमा कुनै ठोस टिप्पणी दिएका छैनन्। NSA प्रवक्ताले भने, “हाम्रा सबै कार्यहरू राष्ट्रपतिद्वारा तोकिएका प्राथमिकताहरू अनुरूप नै हुनेछन्।”

मस्कको प्रभावशाली निजी प्रविधि कम्पनीहरू जस्तै SpaceX, Starlink र XAI (Artificial Intelligence) मार्फत साइबर सुरक्षामा भूमिका रहन सक्छ भन्ने पनि विश्लेषकहरूको अनुमान छ।

अब मस्कको यो भ्रमणले अमेरिकी साइबर रणनीति, जासूसी प्रणाली र कर्मचारी कटौती मा कस्तो असर पार्छ भन्ने चासो बढेको छ।