न्युयोर्क: न्युयोर्कको “कन्जेसन प्राइसिङ” योजना राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनको चुनौती सामना गरिरहेको छ। ट्रम्प प्रशासनले यस योजनालाई रोक्न आदेश जारी गरेको छ, जसअनुसार शुक्रबारभित्र टोल हटाइनु पर्ने बताइएको छ।
तर, न्यूयोर्कका गभर्नर क्याथी होचुल लगायत राज्य अधिकारीहरूले यस योजना निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
जनवरी ५ देखि सुरू गरिएको “कन्जेसन प्राइसिङ” योजनाले ट्राफिक जाम कम गर्ने र सार्वजनिक यातायात सुधारका लागि राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। लण्डन र स्टकहोम जस्ता सहरहरूमा यस किसिमको प्रणाली पहिले नै लागू भइसकेको छ, तर अमेरिकामा भने पहिलोपटक यसको प्रयास गरिएको हो।
राष्ट्रपति पदमा पुनः बहाली भएपछि ट्रम्पले यो योजनाको कडा विरोध जनाएका छन्। उनले संघीय राजमार्ग प्रशासन (“FHA”) मार्फत न्यूयोर्कलाई “म्यानहटनको सेन्ट्रल पार्कभन्दा दक्षिण प्रवेश गर्ने सवारी साधनहरूबाट लिइने $९ टोल तत्काल बन्द गर्न” आदेश दिएका छन्।
तर, न्यूयोर्कको मेट्रोपोलिटन ट्रान्सपोर्टेशन अथोरिटी (“MTA”) ले संघीय सरकारविरुद्ध मुद्दा दायर गर्दै ट्रम्प प्रशासनसँग यस्तो कार्यक्रम रद्द गर्ने कुनै कानुनी अधिकार नरहेको दाबी गरेको छ। गभर्नर होचुलले संघीय आदेशको “व्यवस्थित प्रतिरोध” गर्ने बताएकी छन्।
उनले गत साता ट्रम्पसँग भेटेर यो योजना सफल भइरहेको र “म्यानहटनको व्यापार क्षेत्रमा ट्राफिक कम हुँदै आर्थिक गतिविधि बढिरहेको” तथ्य प्रस्तुत गरेकी थिइन्। “MTA” का अनुसार, टोल क्षेत्रभित्र प्रवेश गर्ने सवारीको सङ्ख्या १०% ले घटेको छ, यात्रा समय सुधार भएको छ, र व्यवसाय क्षेत्रको चहलपहल बढेको छ।
“FOX 5 NY” का अनुसार, “Pace University” का कानुन प्राध्यापक बेनेट गर्शम्यान भन्छन् कि ट्रम्प प्रशासनले एकलौटी रूपमा कन्जेसन प्राइसिङ हटाउने अधिकार राख्दैन।
“संघीय राजमार्ग प्रशासन (“FHA”) ले कांग्रेसको स्वीकृति बिना टोल हटाउन सक्दैन,” गर्शम्यान भन्छन्।
“यो अधिकार सहरलाई कांग्रेसले दिएको हो। यदि टोल हटाउनुपर्यो भने, कांग्रेसले नयाँ कानुन पारित गर्नुपर्छ वा पुनः परामर्श गर्नुपर्छ।””
त्यसैले, “MTA” को मुद्दाले यो योजनालाई शुक्रबारसम्म हट्न नदिने सम्भावना प्रबल छ।
अब, ट्रम्प प्रशासन र न्यूयोर्क राज्यबीचको यस विवादले नयाँ कानुनी लडाइँ निम्त्याउने देखिन्छ।