२० चैत्र २०८१, बुधबार
2 April 2025, Wednesday

किन बन्द भए युएसएआइडीका धेरै कार्यक्रम?

किन बन्द भए युएसएआइडीका धेरै कार्यक्रम?

न्युयोर्क- संयुक्त राज्य अमेरिका विश्वकै सबैभन्दा शक्तिशाली मुलुक हो। यो मुलुकले विश्वभर सहयोग गर्दै आएको छ। अमेरिकी सहयोगले गरिब, असहाय, शरणार्थीलाई खाद्यान्नदेखि बालबालिकालाई शिक्षा र खोपसम्मको पहुँच पु‍र्याउँदै आएको छ। अमेरिकाले दिएको यो सहयोग बिर्सन सकिँदैन। तर, पछिल्लो समयमा युएसएआइडीका धेरै कार्यक्रमहरू बन्द भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै युएसएआइडीका धेरै कार्यक्रमहरू बन्द हुँदा त्यसको असर विश्वभर परिरहेको छ।

युएसएआइडीका अधिकांश कार्यक्रमहरू बन्द गरिएको घोषणा अमेरिकी विदेशमन्त्री मार्को रुबिओले गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै रुबिओले युएसएआइडीले दशौँ अर्ब डलर अमेरिकी स्वार्थअनुकूल नहुने स्थानमा खर्च गरेको आरोप लगाएका छन्। यही कारणले गर्दा युएसएआइडीका ८२ प्रतिशत कार्यक्रमहरू बन्द गरिएको छ। अब बाँकी १८ प्रतिशत कार्यक्रमहरू पनि अमेरिकी विदेश मन्त्रालयबाटै सञ्चालन हुने भएको छ।

अमेरिकी सहयोग बन्द भएपछि बालस्वास्थ्य र शिक्षाका लागि कार्यरत संस्थाहरू पनि अन्योलमा परेका छन्। विश्वभरका मानवीय सहायता कार्यक्रमहरूमा संलग्न संघसंस्थाहरूले युएसएआइडीका सहायता कार्यक्रमहरू बन्द हुँदा गम्भीर परिणामहरू देखा परिसकेको चेतावनी दिएका छन्। कतिपय क्षेत्रमा मानव जीवन नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ। ट्रम्प प्रशासनले आफ्नो ‘अमेरिका पहिलो’ नीतिसँग मेल खाने गरी मात्र अन्तर्राष्ट्रिय खर्च गर्ने बताउँदै आएको छ।

गत जनवरी २० मा ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि युएसएआइडीका हजारौँ कर्मचारीलाई बिदामा बस्न भनियो भने विदेशमा खटिएका कर्मचारीहरूलाई फिर्ता बोलाइयो। पहिलो दिनमै हस्ताक्षर गरिएको कार्यकारी आदेशमार्फत् ट्रम्पले अन्तर्राष्ट्रिय सहायता रोक्का गर्दै युएसएआइडीका कार्यहरूको समीक्षा गर्न आदेश दिए। यो समीक्षा गर्ने जिम्मा इलोन मस्क नेतृत्वको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ (डीओजीई) लाई दिइएको थियो।

विकास सहायता सम्बन्धी हजारौँ ठेक्का रद्द गरिए र हजारौँ कर्मचारीलाई बर्खास्त गरियो। विदेशमन्त्री रुबिओले समीक्षाका आधारमा युएसएआइडीका ६,२०० मध्ये ५,२०० कार्यक्रमहरू औपचारिक रूपमा बन्द गरिएको बताएका छन्।

डेमोक्रेटिक पार्टी तथा कैयौँ मानवीय सहायता संस्थाहरूले अमेरिकी संसद कंग्रेसले कोष उपलब्ध गराउँदै आएको युएसएआइडीका कार्यक्रमहरू रोक्नु अवैध भन्दै मुद्दा हालेका छन्। विश्वभर युएसएआइडीले भोकमरी नियन्त्रण, पोलियो खोप तथा द्वन्द्वग्रस्त क्षेत्रहरूमा खाद्य सहयोग जस्ता कार्य गर्दै आएको थियो। तर, यी कार्यक्रमहरू रोकिएपछि त्यसको असर देखिन थालेको छ। सुडानमा मानवीय सहायता बन्द हुँदा गृहयुद्ध प्रभावित व्यक्तिहरूको लागि सञ्चालन भएका सामुदायिक भान्साहरू बन्द भएका छन्, जसले करिब २० लाख मानिसलाई असर पारेको छ।

तालिबान सरकारले महिला शिक्षामा बन्देज लगाएपछि भागेर ओमान पुगेका अफगान महिलाहरू युएसएआइडीमार्फत् प्राप्त छात्रवृत्ति रोकिएपछि अन्योलमा परेका छन्। त्यस्तै, भारतमा तेस्रो लिङ्गीहरूका लागि खोलिएका तीनवटा मेडिकल क्लिनिकहरू बन्द भएका छन्।

युएसएआइडी अमेरिकी सरकारको तर्फबाट विश्वभर मानवीय सहायता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्न सन् १९६० को दशकमा स्थापना गरिएको थियो। यसमा झण्डै १०,००० कर्मचारी कार्यरत थिए, जसको दुई-तिहाइ विदेशमा थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाले प्रदान गरेको मानवीय सहायता गलत रूपमा खर्च भएकाले कार्यक्रमहरू बन्द गरिएको बताएका छन्। तर, उक्त सहायता कहाँ गलत रूपमा प्रयोग भयो भन्ने बारे स्पष्ट गरिएको छैन। ट्रम्पको यो कदमको सत्तारुढ रिपब्लिकन पार्टीभित्रै आलोचना भएको छ भने डेमोक्रेटिक पार्टीले अदालतमा मुद्दासमेत दायर गरेको छ।

अमेरिकाले वैदेशिक सहायता रोकेपछि अब त्यसको ठाउँ कसले लिने भन्ने प्रश्न उठेको छ। अमेरिकी प्रतिबद्धता कम भएपछि चीनले अन्तर्राष्ट्रिय सहायता क्षेत्रमा अगाडि सर्न सक्ने अनुमान गरिएको छ।

कम्बोडियामा चीनले अमेरिकी सहायता बन्द भए लगत्तै आफ्नो सहयोग घोषणा गरिसकेको छ। त्यहाँ युद्धकालमा बिछ्याइएका विस्फोटक हटाउने कार्यमा दशकौँदेखि अन्तर्राष्ट्रिय सहायता प्राप्त हुँदै आएको थियो। तर, ट्रम्प प्रशासनले सहायता रोकेपछि चीनले कम्बोडियन माइन एक्सन सेन्टर (सीएमएसी) लाई ४४ लाख डलर सहयोग गर्ने निर्णय गरेको छ।

चीनले आफ्नो ‘सफ्ट पावर’ बलियो बनाउन तथा अफ्रिका, ल्याटिन अमेरिका, एसिया, र ओसनियाका विकासशील मुलुकहरूसँग सम्बन्ध सुधार्न चाहेको छ। तथापि, चीनले अमेरिकाले उठाउँदै आएको अन्तर्राष्ट्रिय सहायता जिम्मेवारी पूर्ण रूपमा लिन सक्ने सम्भावना अहिले नै देखिँदैन।

चीन अन्तर्राष्ट्रिय विकास क्षेत्रमा महत्त्वपूर्ण खेलाडी बन्दै गएको छ। सन् २००० देखि २०२१ सम्म चीनले १३.४ ट्रिलियन डलर लगानी गरेको छ भने अमेरिकाले १२.४ ट्रिलियन डलर लगानी गरेको छ। चीनका राष्ट्रपति सी जिनपिङले घोषणा गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गत चीनको सहायता खर्च व्यापक रूपमा बढेको छ।

चीनले २०१८ मा ‘चाइना इन्टरनेशनल डेभलपमेन्ट कोअपरेशन एजेन्सी’ (सीआईडीसीए) स्थापना गरेर सहायता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। तर, चीनको सहायता मोडेल भने अमेरिकाको भन्दा भिन्न छ। अमेरिकाले सहायता स्वास्थ्य तथा मानवीय राहतमा केन्द्रित गरेको छ भने चीनको ध्यान पूर्वाधार, ऊर्जा तथा खनिज उत्खननमा केन्द्रित रहेको छ।

बेइजिङले आफूलाई पश्चिमी देशहरू भन्दा भिन्न ‘दक्षिण-दक्षिण सहयोग’को अवधारणामा केन्द्रित गरेको छ। चीनले आफ्नो सहायता नीतिलाई अहस्तक्षेपकारी साझेदारीको रूपमा प्रचार गर्दै आएको छ।

कतिपय विज्ञहरूले चीनले युएसएआइडीलाई विस्थापित गर्न सक्ने सम्भावना कम भएको बताएका छन्। अमेरिकाले दशकौँदेखि गैरसरकारी संस्था, सरकारहरू, र स्थानीय समुदायहरूसँगको साझेदारीमा सहायता संरचना निर्माण गरिसकेको छ, जुन चीनसँग हाल उपलब्ध छैन। त्यस्तो संरचना बनाउन चीनलाई वर्षौँ लाग्न सक्छ।

पछिल्ला दुई दशकमा चीनले पूर्वाधार विकासमा ठुलो लगानी गरेको छ, जसका कारण उसले ग्लोबल साउथका धेरै देशहरूको समर्थन पाएको छ। आफूलाई अहस्तक्षेपकारी साझेदारका रूपमा प्रस्तुत गर्दै चीनले आफ्नो विकास मोडेललाई सफलतापूर्वक अघि बढाइरहेको छ।

सन्त रिसाल, न्युयोर्क