सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल स्थानीय जनप्रतिनिधिसहित नागरिकता प्रदान गर्न घर पुग्दा क्षितिज राई बाँसको मुडामा बसिरहेका थिए। एक स्थानबाट अर्को स्थानमा बोकेर सार्नुपर्ने अवस्थाका उनका बुवा र आमा घरमा नहुँदा सनाखत गर्न नसकेर नागरिकता प्रमाणपत्र बन्न सकेको थिएन ।
विसं २०६० मा मेचीनगर–३ दोकान डाँडामा जन्मिएका उनी अपाङ्ग भएको थाहा पाएका दिनदेखि बुबा घरबाटै वेपत्ता भएको र आमा वैदेशिक रोजगारीबाट लामो समयदेखि नफर्किएको क्षितिजका छिमेकी शिक्षक देबु बानियाँले बताए। उनले नागरिकता बनाउन बिगत पाँच वर्षदेखि पहल भइरहेको थियो ।
‘आमा विदेशमा र बाबु वेपत्ता भएपछि मावली हजुरबुवा र हजुरआमाले क्षितिजको हेरचाह गर्दै आउनुभएको थियो,’ नागरिकताका लागि पहल गरेका शिक्षक बानियाँ भन्छन्, ‘हजुरआमाको पनि निधन भएपछि वृद्धावस्थाका हजुरबुबाले कनिकुथी हेरचाह गरिरहनु भएको छ ।’
ढिलै भएपनि नागरिकता बनेको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती बताउँछिन्। नागरिकताको आधारमा अब क्षितिजले सरकारबाट मासिक सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। क्षितिजलाई बिहानदेखि बेलुका सम्म बाँसको मुडामा राख्ने गरिएको छ । उनलाई खानासमेत हजुरबुवा कुमार सुब्बाले मुडामै राखेर खुवाउने गरेका छन्।
‘नागरिकता उहाँको नैसर्गिक अधिकार हो,’ सहायक प्रजिअ नेपालले भने, ‘प्रशासनसम्म आउन नसक्ने सही व्यक्तिको पहिचान गरी स्थानीय जनप्रतिनिधिको सहयोगमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता पुर्याएका हौँ।’
चालु आर्थिक वर्षमा जिल्लाका चार जना पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता प्रदान गरिएको सहायक प्रजिअ नेपालले बताए।