चोरिएका प्राचीन मूर्तिहरू नेपाल फर्काइयो
- १० चैत्र २०८१
- १ मिनेटको पढाई
न्युयोर्क – नेपालबाट विभिन्न समयमा चोरी भई विभिन्न मुलुकका सङ्ग्रहालयहरूमा राखिएका नेपाली मूर्ति तथा ऐतिहासिक महत्त्वका सामग्रीहरू नेपाल फर्काउने क्रम जारी छ। यसै सिलसिलामा अमेरिकाको न्युयोर्क सङ्ग्रहालयमा पुर्याइएका नेपाली मूर्तिहरू फिर्ता गर्ने क्रममा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासलाई हस्तान्तरण गरिएको थियो। तर, दूतावाससँग नेपाल फर्काउने बजेट नभएकाले ती मूर्तिहरू नेवा: गुठी, न्युयोर्कलाई हस्तान्तरण गरिएको थियो। ती मूर्तिहरू गुठीको खर्चमा नेपाल पठाइएको छ।
नेवा: गुठी, न्युयोर्कले गत वर्ष पनि यसै गरी आफ्नै खर्चमा प्राचीन मूर्तिहरू नेपाल ल्याई नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
गत फेब्रुअरी २८ मा न्युयोर्कस्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत चन्द्र सुवेदीले ती मूर्तिहरू नेवा: गुठी, न्युयोर्कका अध्यक्ष विजयमान सिंहलाई हस्तान्तरण गरेका थिए। ती मूर्तिहरूमध्ये केही कार्गोमार्फत, केही पानीजहाजमार्फत तथा केही गुठीका स्वयंसेवकहरूले मार्च ४ मा नेपाल ल्याई नेपाल सरकारलाई हस्तान्तरण गर्ने अध्यक्ष सिंहले जानकारी दिए। हस्तान्तरण गरिएका सामग्रीमा १६ थान प्राचीन मूर्ति र तीन थान पौभा चित्र रहेका छन्।
उक्त कार्यमा गुठीका सदस्यहरू प्रेमगोपाल महर्जन, ससिता महर्जन, सजना महर्जन, सन्तोष महर्जन, सुन्दर महर्जन, राजेन्द्र महर्जन, अशोक श्रेष्ठ, कृष्णमाया महर्जन, रोशन महर्जन, सुवर्ण शाक्य, वीरेन्द्र मानन्धर, जयन्ती महर्जन, लकेश श्रेष्ठ, न्हुच्छे डंगोल, विक्रम महर्जन, श्याम महर्जनलगायतले महत्वपूर्ण योगदान दिएका थिए। सबै सहयोगीहरूलाई धन्यवाद दिँदै अध्यक्ष सिंहले नेपालको कला, संस्कृति, धर्म तथा परम्पराको संरक्षण एवं प्रचार-प्रसार गर्न गुठी सधैं प्रतिबद्ध रहेको बताएका थिए।
गुठीको यस योगदानको स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष वीरेन्द्रजंग केसी, दर्शन ठकुरी समाज, न्युयोर्कका अध्यक्ष तथा नेपाली भान्साघरका सञ्चालिका विमला हमाल श्रेष्ठ, हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष शोभाकान्त पाण्डे लगायत विभिन्न संघ-संस्थाहरूले प्रशंसा गरेका छन्।