२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

रक्तदान कार्यक्रम सम्पन्न : नौ संस्थाहरूको हातेमालो अद्वितीय उदाहरण

रक्तदान कार्यक्रम सम्पन्न : नौ संस्थाहरूको हातेमालो अद्वितीय उदाहरण

न्युयोर्क-न्युयोर्कमा नेपाली समुदायका नौवटा संस्थाहरूको संयुक्त आयोजनामा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। एल्महर्स्टस्थित क्विन्स सेन्टरमा सम्पन्न उक्त कार्यक्रममा ठूलो संख्यामा रक्तदाताहरूको सहभागिता रहेको थियो।

लायन्स क्लब अफ क्विन्स बुद्ध, लायन्स क्लब क्विन्स के.टी.एम., रोटरी क्लब न्युयोर्क, बागलुङ सेवा समाज, गोर्खाली समाज न्युयोर्क, गाम मुभमेन्ट, जमैका नेपाली समाज न्युयोर्क, तमु परिवार न्युयोर्क तथा दिलकुमारी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमले सामुदायिक सद्भाव, मेलमिलाप र सहकार्यको क्षेत्रमा एक अद्वितीय उदाहरण प्रस्तुत गरेको छ।

रक्तदानले केवल जीवन-मृत्युको संघर्षमा रहेका बिरामीहरूलाई जीवनदान दिने मात्र होइन, समाजमा सेवाभावको जीवन्त उदाहरण पनि प्रस्तुत गरेकाे छ।

कार्यक्रममा लायन्स क्लब क्विन्स बुद्धका चार्टर प्रेसिडेन्ट कृष्ण आचार्यले प्रमुख भूमिका निर्वाह गरेका थिए। क्लबका मेम्बरशिप चेयरपर्सन लायन पूर्ण पाईजा मगरले रक्तदान कार्यक्रम व्यवस्थापनसम्बन्धी सम्पूर्ण दस्तावेज, प्रमाणपत्र, कार्यक्रमका ब्यानर तथा अन्य व्यवस्थापनको जिम्मेवारी बहन गरेका थिए। साथै, रक्तदाता र न्युयोर्क ब्लड ड्राइभका कर्मचारीहरूलाई उनीहरूको कार्य सहज बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

कार्यक्रममा आयोजक संस्थाहरूका साथै लियो क्लबका स्वयंसेवकहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरूङले यसरी काम गर्दा अत्यन्त आनन्द महसुस भएको र आगामी दिनमा पनि संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न आफ्नो संस्था तयार रहेको बताइन्।

लायन्स क्लब क्विन्स बुद्धका अध्यक्ष चन्द्र नेपालीले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै, सफलताका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण समाजसेवीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

लायन्स क्लब क्विन्स के.टी.एम.की अध्यक्ष रश्मी श्रेष्ठले निःस्वार्थ भावनाका साथ सबै नेपाली समुदायका विभिन्न संस्थाहरू एउटै छातामुनि बसेर परोपकारी कार्यमा हातेमालो गरिरहेको देख्दा अत्यन्त उत्साहित भएको बताइन्।

एनआरएनए एनसीसीको ब्लड ड्राइभ कोअर्डिनेटर चमेली परियारले यो पुण्यकार्यमा सहभागी भएर केही मात्रामा भए पनि योगदान गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको अनुभव व्यक्त गरिन्।

कार्यक्रममा ५८ जनाले सफलतापूर्वक रक्तदान गरेका थिए।

बेगम पण्डित, न्युयोर्क संवाददाता