७ बैशाख २०८२, आइतवार
20 April 2025, Sunday

डोनाल्ड ट्रम्पका सल्लाहकार अलिना हब्बा अमेरिकी अन्तरिम महान्यायाधिवक्ता नियुक्त

डोनाल्ड ट्रम्पका सल्लाहकार अलिना हब्बा अमेरिकी अन्तरिम महान्यायाधिवक्ता नियुक्त

न्यूयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी दीर्घकालीन सल्लाहकार तथा व्यक्तिगत वकिल अलिना हब्बालाई न्यू जर्सी जिल्लाका लागि अन्तरिम अमेरिकी महान्यायाधिवक्ताको रूपमा नियुक्त गरेका छन्।

उनी हाल हब्बा ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पका सल्लाहकारको रूपमा कार्यरत छन्।

“म अत्यन्त हर्षका साथ घोषणा गर्न चाहन्छु कि मेरी विश्वासिला वकिल अलिना हब्बा, जसले लामो समयदेखि मलाई प्रतिनिधित्व गरिरहेकी छिन्, अब न्यू जर्सीका लागि अन्तरिम अमेरिकी महान्यायाधिवक्ताको रूपमा पदभार सम्हाल्नेछिन्। उनी आफ्नो कर्मठता र अडानका साथ न्याय प्रणालीलाई निष्पक्ष र न्यायसंगत बनाउने प्रयास गर्नेछिन्,” ट्रम्पले ‘ट्रुथ सोशियल’ मा पोस्ट गर्दै भने।

हब्बाले जोन जियोर्डानोको स्थान लिनेछिन्, जसलाई ट्रम्पले नामिबियाका लागि अमेरिकी राजदूत नियुक्त गरेका छन्।

ट्रम्पका कट्टर समर्थक तथा उनका विभिन्न कानुनी मुद्दामा सहभागी भएकी हब्बा न्यूयोर्कका अटर्नी जनरल टिश जेम्सको ट्रम्पविरुद्धको नागरिक ठगी मुद्दा तथा लेखक ई. जिन क्यारोलले लगाएको यौन दुर्व्यवहार र मानहानी सम्बन्धी मुद्दाहरूमा समेत संलग्न थिइन्।

“मेरो गृह राज्य न्यू जर्सीको सेवा गर्ने अवसर पाउँदा म सम्मानित महसुस गर्छु। म राष्ट्रपति ट्रम्पलाई यो महत्वपूर्ण जिम्मेवारी सुम्पिनुभएकोमा आभार प्रकट गर्न चाहन्छु। राष्ट्रपति ट्रम्पको व्यक्तिगत वकिलको रूपमा जस्तै, म सत्य र न्यायको लागि निरन्तर लड्नेछु। अब न्याय प्रणालीको राजनीतिकरण समाप्त गर्ने समय आएको छ,” हब्बाले एक्स मा लेखेकी छिन्।

पत्रकारहरूसँग कुरा गर्दै हब्बाले न्यू जर्सीका गभर्नर फिल मर्फी र सिनेटर कोरी बुकरलाई राज्यको अपराध नियन्त्रण गर्न असफल भएको आरोप लगाइन्।

“कोरी बुकरकै सहरमा, गभर्नर मर्फीको नेतृत्वमा अपराध, भ्रष्टाचार र अन्याय मौलाएको छ। यो अब रोक्नुपर्छ,” हब्बाले भनिन्। “न्यूआर्क, क्याम्डेन लगायतका क्षेत्रहरूमा अपराध दर उच्च छ। न्यू जर्सी घनाबस्ती भएको राज्य हो, तर यो राज्य उपेक्षित अवस्थामा छ।”

न्यू जर्सीका अमेरिकी महान्यायाधिवक्ताको कार्यालयको वेबसाइटअनुसार, “न्यू जर्सी जिल्ला एकल जिल्ला हो, जसमा तीनवटा कार्यक्षेत्र छन्: न्यूआर्क, ट्रेन्टन र क्याम्डेन। यी तीन कार्यालयहरूले राज्यभर संघीय अपराध तथा नागरिक कानुनहरू कार्यान्वयन गर्छन्।”