१ बैशाख २०८२, सोमवार
14 April 2025, Monday

पूर्व न्यूयोर्क सिटी काउन्सिल सदस्य मियामी विमानस्थलमा बाल यौन सामग्री सम्बन्धी आरोपमा पक्राउ

पूर्व न्यूयोर्क सिटी काउन्सिल सदस्य मियामी विमानस्थलमा बाल यौन सामग्री सम्बन्धी आरोपमा पक्राउ

न्यूयोर्क- न्यूयोर्क सिटी काउन्सिलका पूर्व सदस्य ड्यानियल जेम्स हलोरानलाई मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा बाल यौन सामग्री राख्ने र ढुवानी गर्ने आरोपमा पक्राउ गरिएको छ।

शनिबार मियामी विमानस्थलमा अमेरिकी भन्सार तथा सीमा सुरक्षा (CBP) अधिकारीहरूले हलोरानको आइफोन जाँच गर्दा एउटा गोप्य फोल्डरमा बाल यौन सामग्री रहेको थुप्रै भिडियो भेटिएको थियो। अभियोग पत्रअनुसार, उक्त फोल्डरमा १,३६२ भिडियोहरू फेला परेका थिए, जसमा करिब दुई-तिहाइदेखि तीन-चौथाइ भिडियोहरू बाल यौन सामग्रीसँग सम्बन्धित रहेको उनले स्विकारेका छन्।

अधिकारिहरूका अनुसार, कम्तीमा ३५ भिडियोहरूमा बालबालिकालाई यौन क्रियाकलाप गराइएको देखिएको छ। साथै, टेलिग्राममार्फत गरिएका सन्देशहरूका आधारमा उनले बाल यौन सामग्री किनबेच गरेको प्रमाण फेला परेको छ।

हलोरान क्यूबाबाट न्यूयोर्क फर्कने क्रममा मियामी विमानस्थलमा रोकिएका थिए। पक्राउपछि उनलाई ब्रवार्ड काउन्टी जेलमा राखिएको थियो, त्यसपछि संघीय हिरासत केन्द्र मियामीमा स्थानान्तरण गरिएको छ।

हलोरान यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भइसकेका व्यक्ति हुन्। उनी २०१५ मा घूसकाण्डमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका थिए र १० वर्षको संघीय जेल सजाय सुनाइएको थियो। उनले डेमोक्र्याटिक सिनेटरलाई रिपब्लिकन पार्टीको तर्फबाट मेयर उम्मेदवार बनाउन मद्दत गर्ने प्रयोजनले घूस लिएको आरोप लागेको थियो।

न्यूयोर्कको क्वीन्सका निवासी हलोरान २००९ मा न्यूयोर्क सिटी काउन्सिलका सदस्य निर्वाचित भएका थिए। २०१३ मा घूसकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेपछि उनको राजनीतिक करिअर समाप्त भएको थियो।

हाल बाल यौन सामग्रीसँग सम्बन्धित गम्भीर आरोप लागेपछि उनीमाथि थप कानुनी कारबाही अघि बढ्ने देखिएको छ।