न्युयोर्क- शुक्रबार दिउँसो लङ आइल्याण्डस्थित आफ्नै घरको केही कदम अगाडि एक पुरुष प्रहरीको गोली लागेर मारिएका छन्। घटनाको सुरुआत परिवारको अनुरोधमा गरिएको “वेलफेयर चेक” बाट भएको अधिकारीहरूले जनाएका छन्।
मारिएको व्यक्ति ब्रुस बोयड हुन्, जो न्यूयोर्क सिटीका पूर्व सुधार केन्द्र (Correction Officer) का अधिकारी थिए। प्रहरी अनुसार, दिउँसो करिब १२:३० बजे सुफल्क काउन्टीका प्रहरीले उनलाई गोली हानेका थिए, जब उनी रगतले लतपतिएको चक्कु बोकेर तीन जना प्रहरीतर्फ जाइलागेका थिए।
बोयड लङ आइल्याण्डको ब्रेन्टवुडस्थित वुर्ज स्ट्रीटमा बसोबास गर्थे, जुन सामान्यतः शान्त मानिने क्षेत्र हो।
“यो निकै स्तब्ध पार्ने घटना हो। म यस्तो कुरा आफ्नो छिमेकमा सुन्न चाहन्न,” स्थानीय बासिन्दा डोना हसफलले भनिन्। “म अत्यन्त दुःखी छु। यस्तो खबर सुन्न मन लाग्दैन।”
“डरलाग्दो हो। यस्तो घटना पहिलो पटक भएको हो,” अर्की छिमेकी जेसिका रामोसले भनिन्।
प्रहरीका अनुसार, बोयडको परिवारका सदस्यको अनुरोधमा उनीहरूको घरमा वेलफेयर चेकका लागि प्रहरी पठाइएको थियो। अनुसन्धानकर्ताहरूले बताएका छन् कि ५४ वर्षीय बोयडलाई मानसिक र चिकित्सकीय समस्याहरू थिए, तर कुनै आपराधिक इतिहास भने थिएन।
बोयडकी पत्नीले प्रहरीलाई घरभित्र ल्याइदिएपछि, भित्र पसेकै साथ प्रहरीले देखे कि उनले आफैंलाई चोट पुर्याएका थिए र हातमा रगताम्य चक्कु समातेका थिए।
“यसपछि प्रहरीहरू डरले घरको अगाडिको लनतर्फ भागे। उनीहरू भाग्दै बोयडलाई चक्कु फाल्न भनिरहे। तर बोयड जाइलाग्दै अघि बढे, त्यसै क्रममा एक जनाले गोली चलाएका थिए, जसले उनीलाई लाग्यो,” सुफल्क काउन्टी प्रहरी आयुक्त केभिन क्याटालिनाले पत्रकार सम्मेलनमा बताए।
छिमेकीहरूले पीडित परिवारप्रति सहानुभूति जनाउँदै साथ दिन तत्पर रहेको बताएका छन्।
“हामी परिवारका सदस्यलाई सक्दो साथ दिन तयार छौं,” हसफलले भनिन्।
प्रहरीका अनुसार, घटनाका क्रममा बोयडकी पत्नीलाई कुनै शारीरिक चोटपटक लागेको छैन।