२५ चैत्र २०८१, सोमवार
7 April 2025, Monday

“हात उठाएर आत्मसमर्पण गर्दै गर्दा युवकलाई प्रहरीको गाडीले हानेको भिडियो सार्वजनिक”

“हात उठाएर आत्मसमर्पण गर्दै गर्दा युवकलाई प्रहरीको गाडीले हानेको भिडियो सार्वजनिक”

न्यूयोर्क- मे २०२४ मा न्यूयोर्कमा एक प्रहरी कारले हतियारको आशंकामा भागिरहेको व्यक्ति “जियोभानी मायो”लाई ठक्कर दिएको घटनाको नयाँ भिडियो सार्वजनिक भएको छ, जसले प्रहरीको दाबीमाथि प्रश्न उठाएको छ। भिडियोमा मायोले आत्मसमर्पण गर्न हात उठाएको देखिन्छ, तर प्रहरीले भने उनी कारको अगाडि अचानक दौडिएर आए भनेका थिए।

ठक्करबाट मायोलाई “गम्भीर मस्तिष्क चोट” पुगेको छ, र उनी अझै स्पष्ट बोल्न सक्दैनन्। उनका वकिलले भने, “उनले आत्मसमर्पण गरेका थिए र त्यस्तो अवस्थामा कार प्रयोग गर्नु अनुचित थियो।” प्रहरी निकायले घटनाबारे कुनै टिप्पणी नगरेको तर “आन्तरिक समीक्षा” भइरहेको जानकारी दिएको छ।

प्रहरीले भनेका थिए कि मायोले एक महिलामाथि बन्दुक ताकेका थिए, तर ती महिलाले त्यो असत्य भएको बताएकी छिन्। प्रहरीले उनलाई भाग्ने क्रममा हतियार फालेको भने पुष्टि गरेको छ।

घटनापछि प्रहरीले “नयाँ नीतिअनुसार सामान्य अपराधमा सवारीसाधन प्रयोग गरी पछ्याउने कार्यमा रोक” लगाएको छ। तर यो केसमा प्रहरीले नीति उल्लंघन गरे वा नगरे भन्नेबारे स्पष्ट छैन।