२५ चैत्र २०८१, सोमवार
7 April 2025, Monday

सीबीपी अधिकारीहरू गैरकानुनी आप्रवासीलाई प्रवेश गराउन घूस लिएको आरोपमा पक्राउ

सीबीपी अधिकारीहरू गैरकानुनी आप्रवासीलाई प्रवेश गराउन घूस लिएको आरोपमा पक्राउ

न्युयोर्क- अमेरिकाको सबैभन्दा व्यस्त सीमा नाका “San Ysidro Port of Entry” मा कार्यरत दुई अमेरिकी सीमाशुल्क तथा सीमा सुरक्षा (CBP) अधिकारीहरू गैरकानुनी आप्रवासीलाई प्रवेश गराउन घूस लिएको आरोपमा पक्राउ परेका छन्।

अधिकारीहरू “फार्लिस आलमोन्टे” र “रिकार्डो रोड्रिगेज” ले हजारौं डलरको बदलामा दर्जनौं सवारी साधनहरूलाई आवश्यक कागजात विना अमेरिका प्रवेश गराएका थिए भन्ने अभियोजनकर्ताको भनाइ छ। अदालतका कागजातहरू अनुसार, अधिकारीहरू र मेक्सिकोका मानव तस्करहरूबीचको फोन सन्देशहरू फेला परेका छन्, साथै उनीहरूको बैंक खातामा ठूलो मात्रामा स्रोत नखुलेको नगद रकम जम्मा भएको भेटिएको छ।

एक घटनामा, निगरानी क्यामेरामा दुई जना यात्रु रहेको गाडी चेकपोइन्टमा रोकिएको देखिए पनि सरकारी अभिलेखमा चालक मात्र अमेरिका प्रवेश गरेको उल्लेख गरिएको थियो।

आलमोन्टे पक्राउ पर्दा, अनुसन्धानकर्ताहरूले झन्डै ७० हजार डलर नगद बरामद गरेका थिए जुन उनको प्रेमिकाले टिजुआनातर्फ लैजाने तयारीमा रहेको आशंका गरिएको छ। अभियोजन पक्षले आलमोन्टेले सम्पत्ति शुद्धीकरण र प्रमाण लुकाउने प्रयास गरेको आरोपमा थप मुद्दा लगाउन सकिने बताएका छन्।

अस्थायी अमेरिकी अटर्नी “एन्ड्रु हेडेन” ले भने, “जो–कसैले पनि तस्करलाई सहयोग गर्ने सीबीपी अधिकारीले आफ्नो शपथ तोडेको हुन्छ र यसले राष्ट्रिय सुरक्षामा गम्भीर खतरा पुर्‍याउँछ।”

रोड्रिगेजका कानुनी प्रतिनिधि “माइकल हकिंस” ले भने, “यो मुद्दा प्रारम्भिक चरणमै रहेको छ र रोड्रिगेज निर्दोष मानिन्छन्। हामी यो परिस्थितिको समाधानमा अग्रसर हुनेछौं,” भन्दै उनले रोड्रिगेजलाई ‘मेहनती र विश्वासिलो’ भनेर उल्लेख गरे।

आलमोन्टेले कानुनी प्रतिनिधि नियुक्त गरेका छन् या छैनन् भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। पछिल्ला दुई वर्षमा मात्र सान डिएगो क्षेत्रमा कार्यरत पाँच जना सीबीपी अधिकारीहरू विरुद्ध यसै प्रकारका भ्रष्टाचार मुद्दा दायर भइसकेका छन्।