त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
- २६ चैत्र २०८१
- १ मिनेटको पढाई
काठमाडौं- नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ किलो ८५५ ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षीय सन्दीप कुभाटुमोला उन्नी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।
‘थाई एयरको उडानमार्फत बैङ्ककबाट काठमाडौं आएका निजलाई अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाको एक्स–रे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उक्त परिणामको गाँजा फेला परेपछि आइतबार पक्राउ गरिएको हो,’ उनले भने ।
पक्राउ परेका उनलाई आज सार्वजनिक गरिएको र थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।