योनकर्समा ढुंगा भवनमा ठोक्किँदा एक भवनमा क्षति
- २६ चैत्र २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क- सोमबार बिहान न्यूयोर्कस्थित योनकर्सको एक भवन आंशिक रूपमा भत्किएको छ। यो अनौठो घटनामा एक ठूलो ढुंगा (बोल्डर) भवनको पछाडिको डाँडाबाट लडेर सिधै भवनमा ठोक्किएको योनकर्स नगरपालिकाको कार्यालयले जनाएको छ।
सो मिल रिभर रोडमा बिहान करिब ७ बजे भवन भत्किएको सूचना पाएपछि योनकर्सका दमकलकर्मी घटनास्थल पुगेका थिए। घटनामा भवनको ठूलो भाग भत्किएको पाइएको थियो।
दमकल विभागका अनुसार डाँडाबाट खसेको उक्त ढुंगा भवनमा ठोक्किँदा संरचनामा गम्भीर क्षति पुगेको हो।
सौभाग्यवश, घटनामा कुनै घाइते भएको छैन र सर्वसाधारण वा वरपरका घरहरूमा खतरा नरहेको अधिकारीहरूले बताएका छन्।
तर, भित्रै रहेको ५०० ग्यालन क्षमताको हीटिङ्ग तेलको ट्यांकी फुटेर इन्धन चुहावट भएपछि सावधानी स्वरूप हाजम्याट (Hazmat) टोलीलाई बोलाइएको छ।
नगर प्रमुखका अनुसार यस घटनाले “लिबर्टी लाइन्स” बस सेवा प्रभावित हुनेछ। सडक दुबै दिशामा अर्को सूचना नआएसम्म बन्द गरिनेछ।