स्कुलको शौचालयमा विद्यार्थीमाथि चक्कु प्रहार, १६ वर्षीय किशोर हत्या प्रयास अभियोगमा पक्राउ
- २७ चैत्र २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- न्यु जर्सीको फोर्ट ली उच्च माध्यमिक विद्यालयमा एक १६ वर्षीय विद्यार्थीले अर्का एक सहपाठीलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा उसलाई हत्या प्रयास तथा गम्भीर आक्रमणको अभियोगमा पक्राउ गरिएको छ।
अधिकारिहरूका अनुसार घटना विद्यालयको शौचालयमा झगडा भएपछि घटेको हो। स्कूलमा खटिएका एक प्रहरी अधिकारीले बिहान ११ बजेभन्दा केही अघि उक्त घटनाको जानकारी पाएपछि तुरुन्तै सुरक्षा निकायलाई खबर गरेका थिए। प्रहरी घटनास्थलमा पुगेपछि घाइते विद्यार्थीलाई घाँटी, ढाड, हात र छातीमा चोट लागेको अवस्थामा फेला पारेका थिए। उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको भए तापनि अहिले उनको अवस्था स्थिर रहेको जनाइएको छ।
प्रहरीले आरोपी विद्यार्थीलाई घटनास्थल नजिकैको लेमोइन एभेन्यूबाट नियन्त्रणमा लिएको हो। उनीहरूबीच के कारणले झगडा भएको हो भन्ने कुरा अझै खुल्न सकेको छैन। घटनापछि आरोपी विद्यार्थीमाथि पहिलो दर्जाको हत्या प्रयास, दोस्रो दर्जाको गम्भीर आक्रमण र हतियार सम्बन्धी विभिन्न अभियोगहरू लगाइएको छ। कानुनी कारणले उसको नाम सार्वजनिक गरिएको छैन।
विद्यालय प्रशासनले अभिभावकहरूलाई पठाएको सूचनामा घटनापछि विद्यालयमा लकडाउन गरिएको र त्यही सुरक्षा अवस्था कायम राख्दै विद्यार्थीहरूलाई बिदा गरिएको जानकारी गराइएको छ।
घटनाको अनुसन्धान फोर्ट ली प्रहरी विभाग र बर्गेन काउन्टी अभियोजकको कार्यालयले संयुक्त रूपमा गरिरहेको छ। घटनास्थलमा थुप्रै प्रहरीका सवारी साधनहरू देखिएका थिए र विद्यालयको प्रवेशद्वारहरू पूर्ण रूपमा बन्द गरिएको थियो।