एनवाइपीडी अफिसरलाई टोकेको आरोप लागेकी न्यूयोर्क सिटी काउन्सिल सदस्यको मुद्दा खारेज
- २७ चैत्र २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्क सिटी काउन्सिल सदस्य सुजन झ्वाङ (Susan Zhuang) माथि गत वर्ष भएको एक विरोध प्रदर्शनका क्रममा प्रहरी अधिकृतलाई टोकेको आरोपमा लागेको आपराधिक मुद्दा खारेज गरिएको छ। ब्रुकलिन जिल्ला वकिलको कार्यालयले मंगलबार जनाएको अनुसार, झ्वाङले “पुनर्स्थापना न्याय प्रक्रिया (restorative justice process)” पूरा गरेपछि मुद्दा खारेज गरिएको हो।
डेमोक्र्याटिक पार्टीकी झ्वाङमाथि ब्रोकलिनस्थित उनको निर्वाचन क्षेत्रभित्र निर्माणाधीन नयाँ बेघर आश्रय केन्द्रविरुद्ध भएको तनावपूर्ण प्रदर्शनको क्रममा एक प्रहरी उपप्रमुखलाई टोकेको आरोप लागेकाे थियो।
अदालती उजुरी अनुसार, झ्वाङले प्रहरीलाई धकेल्दै ब्यारेकेडहरू तानिरहेका बेला प्रहरीले उनलाई रोक्न खोजेपछि उनले प्रहरी उपप्रमुखको पाखुरामा टोकेको र हतकडी लगाउन खोज्दा प्रतिरोध गरेको बताइएको छ। झ्वाङले भने उक्त प्रदर्शनमा भुइँमा लडिरहेकी एक महिलालाई सहयोग गर्न खोज्दा प्रहरीबाट अनावश्यक बल प्रयोग भएको दाबी गरेकी थिइन्।
झ्वाङको कार्यालयले मंगलबार पठाइएको ईमेल अनुरोधमा कुनै प्रतिक्रिया दिएको छैन भने उनका वकिल जेरी गोल्डफेडरले पनि टिप्पणी गर्न अस्वीकार गरेका छन्।
ब्रुकलिन जिल्ला वकिल एरिक गोनजालेजका प्रवक्ता ओरेन यानिभले भने, “यो मुद्दा एक पुनर्स्थापना न्याय प्रक्रियामार्फत खारेज गरिएको हो, जसले संवाद, जवाफदेहीता र पुनर्मिलनको वातावरण सृजना गर्यो।”
उनले थपे, “यो निर्णय पीडितको इच्छाअनुसार र प्रतिवादीको गल्ती स्वीकार गर्ने तयारीको आधारमा गरिएको हो। पुनर्स्थापना न्यायको उद्देश्य नै यही हो — क्षतिपूर्ति, समझदारी, र समाधानतर्फको बाटो निर्माण गर्नु।”