लङ आइल्याण्डमा १५ वर्षीय किशोरद्वारा हजुरआमाको हत्या, आमा गम्भीर घाइते
- २७ चैत्र २०८१
- २ मिनेटको पढाई
न्युयोर्क- लङ आइल्याण्डस्थित सेल्डेनमा बसोबास गर्ने १५ वर्षीय किशोरले आफ्नै हजुरआमाको हत्या गरेका छन् र आमालाई गम्भीर घाइते बनाएका छन्। प्रहरीका अनुसार, परिवारले उनको हालको व्यवहारका कारण कम्प्युटर खोस्ने धम्की दिएपछि उनी आक्रोशित भएर यस्तो हिंसात्मक कार्यमा उत्रिएका हुन्।
सुफोक काउन्टी प्रहरीले दिएको जानकारी अनुसार, सोमबार राति १० बजेभन्दा केहीअघि भेनेसा चेन्डेमी नामकी आमा चिच्याउँदै घरबाट बाहिर निस्किएपछि एकजना गाडी चालकले सहयोग गरे। ती चालकसँगै ९११ मा फोन गरियो।
प्रहरी घटनास्थलमा पुगेपछि ५६ वर्षीया हजुरआमालाई थुप्रै पटक छुरा प्रहार गरिएको अवस्थामा मृत फेला पारे। आक्रमणपछि छोरी (पीडित आमा) केहीबेर मृतकजस्तो अभिनय गरेकी थिइन् र पछि अस्पताल पुर्याइएकी थिइन्। उनको अवस्था स्थिर छ।
किशोर घटनापछि फरार भएका थिए तर घटनाको दुई घण्टाभित्रै नजिकै रगतले लतपतिएको अवस्थामा पक्राउ परेका थिए। घटनास्थलबाट रगतले पोतिएका दुई वटा भान्साको चक्कु पनि फेला परेका छन्।
किशोरको नाम उमेरका कारण सार्वजनिक गरिएको छैन। उनलाई हत्या र हत्या प्रयासको अभियोगमा मुद्दा दायर गरिएको छ र मंगलवार सेन्ट्रल इस्लिपको फर्स्ट डिस्ट्रिक्ट कोर्टमा उपस्थित गराइएको थियो।
किशोरको वकिलले “उहाँ १५ वर्षको बालक हुनुहुन्छ र अहिलेसम्म दोषी ठहरिएका छैनन्” भन्दै कुनै निर्णयमा चाँडो नपुग्न आग्रह गरे।
प्रहरीका अनुसार, यसअघि घरबाट छोरासँग सम्बन्धित कुनै ९११ कल आएको थिएन। एक पटक आमासँग हजुरआमाबीच विवाद भएको सूचना भने आएको थियो, तर उक्त घटना अहिलेको घटनासँग असम्बन्धित भएको जनाइएको छ।
तीन जना एउटै घरको पहिलो तलामा सँगै बस्दै आएका थिए।
अभियोजकका अनुसार, पछिल्लो केही दिनदेखि किशोर विद्यालय नजाने, कोठामा आफूलाई थुन्ने र अत्यधिक समय कम्प्युटर चलाउनेजस्ता व्यवहार देखाउँदै आएका थिए। जब हजुरआमाले “कम्प्युटर खोसिदेऊ” भनी आमालाई सुझाइन्, त्यसपछि ती किशोरले क्रोधित भएर आमामाथि र त्यसपछि हजुरआमामाथि छुरा प्रहार गरेका थिए।
अदालतमा किशोरका एक पारिवारिक सदस्य उपस्थित थिए तर टिप्पणी गर्न चाहेनन्। किशोरले अदालतमा केही बोलेनन्।