न्यूयोर्क शहरभरी सार्वजनिक शौचालय निर्माण गर्न सिटी काउन्सिलको प्रस्ताव
- २८ चैत्र २०८१
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्कजस्तो व्यस्त शहरमा मानिसहरू सधैं हतारमा हुन्छन्, तर कहिलेकाहीं जाने ठाउँ (शौचालय) पाउन निकै गाह्रो पर्छ। यही समस्यालाई समाधान गर्न न्यूयोर्क सिटी काउन्सिलले बिहीबार सार्वजनिक शौचालयको पहुँच विस्तार गर्ने प्रस्तावमा मतदान गर्ने तयारी गरेको छ।
प्रस्ताव पास भएमा हाल शहरभर रहेका १,१०० सार्वजनिक शौचालयमा थप १,००० शौचालय निर्माण गरेर कुल संख्या २,१२० पुर्याइनेछ। यो योजनाले शहरमा सार्वजनिक शौचालयको दीर्घकालीन रणनीतिक योजना बनाउने र २०३५ सम्ममा कार्यान्वयन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
दौडने अभ्यास गर्ने जर्ज ट्लाटेल्पाले भने, “निश्चित रूपमा थप शौचालय आवश्यक छन्। कहिलेकाहीं समय अभावमा शौचालय खोज्न निकै अप्ठ्यारो हुन्छ, र भए पनि मानिसको भीडले प्रयोग गर्न गाह्रो पर्छ।”
शहरबासीहरू मात्र होइन, पर्यटकहरूका लागि अझै गाह्रो हुने अध्ययनले देखाएको छ। हाल न्यूयोर्कमा ७,८०० जनाको लागि मात्र एक सार्वजनिक शौचालय उपलब्ध छ। अध्ययनअनुसार ४०% शौचालयमा फोहोर फैलिएको थियो भने २५% अस्वच्छ वा खतराजनक अवस्थामा थिए, जसले स्वास्थ्य र सुरक्षा समस्याहरू निम्त्याउन सक्छ।
यद्यपि, NYC Parks विभागले उक्त अध्ययनमा मात्र आफ्ना ७०० शौचालयमध्ये १५% शौचालयलाई समेटिएको भन्दै अध्ययनको आलोचना गरेको छ।
सिटिजन स्टेफन रोसेन्थालले भने, “योजना महँगो हुन सक्छ, तर डेलिभरी ड्राइभरहरू, गर्भवती महिला वा आकस्मिक आवश्यकतामा परेका जो कोहीका लागि यो निकै उपयोगी हुनेछ।”