ट्रम्प प्रशासनले अमेरिकी नागरिकहरूलाई देशनिकाला गर्ने? राष्ट्रपति ट्रम्पको नयाँ प्रस्तावले उठायो बहस
- ३० चैत्र २०८१
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक अपराधमा संलग्न अमेरिकी नागरिकलाई, यदि कानुनी रूपमा सम्भव भयो भने, देशनिकाला गर्ने प्रस्ताव गरेका छन्। यो विषय सोमबार ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकार सम्मेलनमा खुलासा गरेपछि बहसको विषय बनेको छ।
लेभिटका अनुसार, ट्रम्पले यस विचारलाई हाललाई “एक प्रस्तावको रूपमा मात्रै” सार्वजनिक रूपमा छलफलमा ल्याएका हुन्। उनले भनिन्,
“राष्ट्रपतिले जुन अमेरिकी नागरिकहरूलाई सम्भावित रूपमा देशनिकाला गर्ने प्रस्ताव गर्नुभएको हो, ती कडा आपराधिक क्रियाकलापमा संलग्न, बारम्बार नियम उल्लंघन गर्ने अपराधीहरू हुन्। यो कानुनी रूपमा सम्भव भएमा मात्रै अघि बढाइने कुरा हो।”
यो विचारले अब अमेरिकी संविधानले को कोलाई देशनिकाला गर्न सकिन्छ भन्ने विषयमा थप प्रश्नहरू उठाएको छ। ट्रम्पले यसअघि पनि जेलमा रहेका अमेरिकी नागरिकहरूलाई देशनिकाला गर्ने उल्लेख गरेका थिए। यो मुद्दा फेरि चर्चामा आयो जब एल साल्भाडोरका राष्ट्रपतिले अमेरिकी अपराधीहरूलाई आफ्नो देशमा राख्ने प्रस्ताव दिए, र ट्रम्पले यसलाई स्वीकार गर्न इच्छुक रहेको संकेत गरे।
तर संवैधानिक कानुनका विज्ञ र जर्जटाउन विश्वविद्यालयका प्राध्यापक डेविड सुपरले यसबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनी भन्छन्:
“नागरिक हुनुको अर्थ हुन्छ – यो तपाईंको देश हो। संविधानको मूल भावना अनुसार, हामी कुनै व्यक्तिलाई मृत्युदण्ड दिन सक्छौं, तर नागरिकलाई देशबाट निकाल्न सक्दैनौं।”
उनका अनुसार, अमेरिकाले यस्तो प्रस्ताव कहिल्यै अनुभव गरेको थिएन र यो संविधानको व्याख्यामा एक नयाँ मोड ल्याउन सक्छ।
ट्रम्पको यो प्रस्ताव हाल कानुनी रूपमा लागू गर्न मिल्ने स्थिति छैन, तर यसले अमेरिकी नागरिकता र अधिकारबारे गहिरो बहस सुरु गरिदिएको छ।