न्यूयोर्क : रोटरी क्लब अफ न्यूयोर्क क्विन्सको इन्टरेक्ट क्लबले आयोजना गरेको ‘स्प्रिङ फन डे’ भव्य र उत्सवमय बनेको छ। इन्टरेक्ट क्लबका अध्यक्ष आलाश भट्ट र उपाध्यक्ष त्सेरिङ चोएकी लामाको नेतृत्वमा भएको कार्यक्रमले सहभागी सबैलाई रमाइलो र स्मरणीय अनुभव प्रदान गरेको हो।
कार्यक्रमले युवा नेताहरूको सामूहिक प्रयास, दृष्टिकोण, र समर्पणको प्रमाण पेश गरेको सहभागीले बताएका छन्। उनीहरूको योजनाबद्ध प्रयासले कार्यक्रमलाई अत्यन्त व्यवस्थित बनाएको थियो। नेपाली, तिब्बती, र अन्य समुदायका करिब ४० बच्चाहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए। जसले एकता र समावेशिताको बलियो भावना जगाएको थियो। सङ्गीतात्मक कुर्सी, बल पास गर्ने खेल, प्रश्नोत्तर प्रतियोगिता, राफल ड्र, अनुहार रंगाउने कला, हस्तकला, नृत्य, र भाग्य ड्र जस्ता गतिविधिहरू समावेश गरिएको थियो।

कार्यक्रमलाई प्रख्यात नेपाली राष्ट्रियस्तरका हास्य कलाकार, जादुगर, र नर्तक महादेव त्रिपाठीको प्रस्तुतिले अझ अद्भूत उचाई प्रदान गरेको थियो। उनका हाँस्य र सांस्कृतिक कथासँगै नृत्य पाठले बालबालिका मात्र नभई अभिभावकलाई पनि अविस्मरणीय प्रभाव पार्यो। उनले नेपाली सम्पदा र प्रकृतिको बीचमा सम्बन्ध जोड्ने कलात्मक क्षमता प्रस्तुत गरे, जसले उपस्थित सबैका लागि अनुभवलाई अत्यन्त अर्थपूर्ण बनाएको थियो।
मनोरञ्जनको बाहेक कार्यक्रममा बालबालिकाहरू र परिवारहरूको मानसिक, सामाजिक, भावनात्मक, र आध्यात्मिक मूल्यमा महत्वपूर्ण योगदान रहेको छ। रचनात्मक र अन्तर क्रियात्मक गतिविधिमा संलग्न हुँदा भावनात्मक बौद्धिकता वृद्धि गर्न मद्दत गर्ने, सामाजिक सम्बन्ध बलियो बनाउने र आत्मीयताको भावना जगाउने आयोजकको दाबी छ।

सेवाको समर्पणको सम्मान
सेवाको भावना मान्यता दिँदै, रोटरी क्लब अफ न्यूयोर्क क्विन्सका अध्यक्ष अर्जिन पौडेलले धन्यवाद पत्र प्रस्तुत गरेका थिए। यो पत्र न्यूटाउन स्कूलका सहभागी विद्यार्थीहरूलाई प्रदान गरिएको थियो। उनीहरुले गत गर्मीमा मूर हेम्पस्टेड पार्क सफा गर्ने कार्यक्रममा सक्रिय रूपमा स्वयंसेवा गरेका थिए। उनीहरूको योगदानले रोटरीको मूल मूल्यहरू सेवा माथि आत्मा, जिम्मेवारी, र नेतृत्व लाई प्रतिबिम्बित गर्ने जनाइएको छ।
कार्यक्रम कुकीज, क्रोइसान्ट, स्याउको रस, पानी, र पिज्जाको स्वादिलो चयनले अझ रमाइलो बनाएको थियो। भेलालाई सम्भव बनाउन प्रत्येक स्वयंसेवक, सहभागी र आयोजकको अमूल्य समर्थन र मेहनत रहेको आयोजकको दाबी छ। कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण रोटेरियनहरूप्रति आयोजकले हार्दिक कृतज्ञता व्यक्त गरेको थियो।

