पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै
- ०१ बैशाख २०८२
- १ मिनेटको पढाई
लिस्बन । पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको बिस्का (बिस्केट) जात्रा मनाउने भएका छन् ।
नेवाः खल पोर्चुगलको आयोजनामा मङ्गलबार राजधानी लिस्बनमा बिस्का जात्रा मनाउन लागिएको हो ।
खलले लिस्बनको आरोइसस्थित ग्रिल एण्ड चिल रेस्टुरेन्टको हलमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदानसहित भव्यताका साथ जात्रा (नखः) मनाउने खलका संयोजक अमृतरत्न शाक्यले जानकारी दिए ।
नेवारी रीतिरिवाज, भाषा, धर्म संस्कृति, परम्परा र पहिचान जगेर्ना गर्ने उद्देश्यअनुरुप विदेशी भूमिमा समेत बिस्का जात्रा मनाउन लागिएको उनको भनाइ छ ।
नेवारी कला र संस्कृतिको माध्यममार्फत पोर्चुगलमा छरिएर रहेका नेवार समुदायलाई एकत्रित गर्न, आपसी मेलमिलाप, सहकार्य र भाइचारालाई थप प्रगाढ बनाउन जात्राको आयोजना गरिएको संयोजक शाक्यले बताए ।
कार्यक्रममा नेवारी परम्पराअनुसार भैरवको विशेष पूजाआराधना गरिनेछ, समयबजी, टीकाटाला, ध्वजा र सगुन ग्रहण तथा शुभकामना आदानप्रदानको कार्यक्रम तय भएको खलले जनाएको छ ।
त्यस अवसरमा नेपाली तथा नेवारी खानाका परिकारका साथै नेवारी कला र संस्कृति झल्कने सांस्कृतिक झलकहरू प्रस्तुत गरिने जनाइएको छ ।