३ बैशाख २०८२, बुधबार
16 April 2025, Wednesday

अमेरिकाको क्वीन्समा चक्कु बोकेका व्यक्तिलाई प्रहरीले गोली हानेर हत्या

अमेरिकाको क्वीन्समा चक्कु बोकेका व्यक्तिलाई प्रहरीले गोली हानेर हत्या

न्यूयोर्क – अमेरिकाको न्यूयोर्कस्थित क्वीन्स क्षेत्रमा सोमबार बिहान चक्कु बोकेका एक व्यक्तिलाई प्रहरीले गोली हानेर हत्या गरेको छ।

न्यूयोर्क प्रहरीले जनाएको अनुसार उक्त घटना बिहान करिब ६:२० बजे ३०औं एभेन्यु र ३१औं स्ट्रिटको दोबाटोमा, ३० एभेन्यु सबवे स्टेशनको तलपट्टी भएको हो।

प्रहरीका अनुसार ६१ वर्षीय ती व्यक्ति १४ इन्च लामो चक्कु बोकेर आक्रामक शैलीमा हिँडिरहेका थिए। उनलाई देखेपछि सर्वसाधारणले आपतकालीन नम्बरमा पटक–पटक फोन गरी सूचना दिएका थिए।

घटनास्थलमा खटिएको NYPD टोलीले ती व्यक्तिलाई पटक–पटक चक्कु फाल्न आदेश दिएको तर उनले नमानेपछि Taser प्रयोग गरेर नियन्त्रणमा लिन प्रयास गरेको थियो। तथापि, Taser प्रभावकारी नभएपछि प्रहरी अधिकारीहरूले झण्डै एक मिनेटसम्म वार्ताको प्रयास गरेका थिए।

प्रहरीका अनुसार ती व्यक्ति प्रहरीतर्फ चक्कु लिएर अघि बढेपछि अधिकारीहरूले आत्मरक्षार्थ गोली प्रहार गरेका थिए।
“NYPD जहिल्यै यस्ता घटनाहरूलाई जति सकिन्छ, शान्तिपूर्ण ढंगले समाधान गर्न चाहन्छ,” प्रहरी प्रमुख जोन चेलले पत्रकारहरूलाई भने, “तर जब खतरा नजिक आउँछ, प्रहरी आत्मरक्षा गर्न बाध्य हुन्छ।”

गोली लागेका ती व्यक्तिलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो, तर उनको त्यहीँ मृत्यु भएको NYPD ले जनाएको छ।

प्रहरी स्रोतका अनुसार ती व्यक्तिको विगतमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको र उनी यसअघि पनि प्रहरीको निगरानीमा परेका थिए।

घटनास्थल नजिकैको सबवे ट्रयाक क्षेत्रमा NBC न्यूयोर्कका संवाददाताले ती चक्कु देखिएको पुष्टि गरेका छन्। यसैबीच, घटनास्थलमा अनुसन्धान टोलीले दर्जनौं प्रमाण सङ्कलन गर्दै बडीक्याम र निगरानी क्यामेरामा कैद भएको दृश्यहरूको समेत विश्लेषण गरिरहेको बताइएको छ।

हाल प्रहरी र अनुसन्धान अधिकारीहरू घटनाको पूर्ण विवरण संकलन गरिरहेका छन्। विस्तृत विवरण केही दिनभित्र सार्वजनिक गरिने जनाइएको छ।