ब्रङ्क्समा एम्बुलेन्स र बक्स ट्रक ठोक्किँदा ३ जना घाइते
- ०२ बैशाख २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- ब्रङ्क्समा एम्बुलेन्स र बक्स ट्रक एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटना मंगलवार बिहान भएको हो।
स्थानीय समय अनुसार बिहान करिब ६:३० बजे पेलहम पार्कवे र विलियम्सब्रिज रोडको सङ्गममा दुर्घटना भएको खबर पाएपछि आपत्कालीन उद्धार टोली घटनास्थलमा पुगेको थियो।
घटनास्थलमा दुवै सवारीसाधन गम्भीर रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेका थिए। बक्स ट्रक त पल्टिएको अवस्थामा भेटिएको थियो।
घाइतेहरूको अवस्था गम्भीर नभएको र उनीहरू सबैको अवस्था खतरामुक्त रहेको जनाइएको छ। दुर्घटनाको समयमा एम्बुलेन्स कहाँ जाँदै थियो भन्ने कुरा प्रष्ट भइसकेको छैन। न्यूयोर्क सिटीको दमकल विभाग (FDNY) का अनुसार सो एम्बुलेन्स उनीहरूको स्वामित्वमा पर्ने एम्बुलेन्स थिएन।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। घटनाको अनुसन्धानका लागि सो क्षेत्रमा केही समयका लागि सवारी आवागमन बन्द गरिएको थियो।