हड्सन नदीबाट हेलिकप्टरको मुख्य रोटरसहितका महत्त्वपूर्ण प्रमाणहरू निकालियाे
- ०२ बैशाख २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- गत साता हड्सन नदीमा भएको हेलिकप्टर दुर्घटनासम्बन्धी अनुसन्धानका लागि अत्यावश्यक मानिएका केही “महत्त्वपूर्ण प्रमाणहरू निकालिएको छ”।
दुर्घटनास्थलमा खटिएका गोताखोरहरूले “हेलिकप्टरको मुख्य रोटर” नदीबाट निकाल्न सफल भएका छन्। यो मुख्य रोटर हेलिकप्टरको ट्रान्समिशनसँग जोडिएको हुन्छ र उडानको लागि अत्यावश्यक उपकरण हो। यसको प्राविधिक परीक्षणबाट दुर्घटनाको कारणबारे महत्वपूर्ण जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।
त्यसका साथै, बेल २०६ मोडलको उक्त हेलिकप्टरको “टेल रोटर” र “रूफ बीम” पनि निकालिएको छ। राष्ट्रिय यातायात सुरक्षा बोर्ड (NTSB) का अनुसार, सोमबार उद्धार कार्य पूर्ण रूपमा सम्पन्न गरिएको हो।
यी प्रमाणहरू निकालिएको केही समयपछि “न्यूयोर्क हेलिकप्टर टूर्स” नामक कम्पनीले आफ्ना सम्पूर्ण उडानहरू “तत्काल बन्द” गर्ने घोषणा गरेको थियो।
अमेरिकी उड्डयन प्रशासन (FAA) ले पनि कम्पनीविरुद्ध कडा कारबाही अघि बढाएको छ। FAA ले कम्पनीको उडान अनुमतिपत्रको समीक्षा गरिने जनाएको छ र कम्पनीसँग हाल “योग्य अपरेशन निर्देशक नरहेको” भन्दै सबै उडानहरू ग्राउन्ड गर्ने निर्णय गरेको छ।
उक्त दुर्घटनामा पाइलटसहित एकै परिवारका पाँच जना सदस्यको ज्यान गएको थियो। मृतकमध्ये अगस्टिन एस्कोबार (४९), उनकी पत्नी मर्से क्यामप्रुबी मोंटल (३९), तथा उनीहरूका तीन सन्तान — अगस्टिन (१०), मर्सेडेस (८), र भिक्टर (४) थिए। हेलिकप्टर उडाइरहेका पाइलट सीन जोन्सन (३६) पूर्व अमेरिकी नेभी सदस्य थिए।
दुर्घटनाको “ठोस कारण अझै खुलेको छैन”, तर NTSB ले सबै सम्भावनाहरूको अध्ययन गरिरहेको जनाएको छ।