श्री रामगीता वाङ्मय मन्दिरद्वारा दुई विशिष्ट स्रष्टालाई अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने
- ०३ बैशाख २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- नेपाली भाषा, साहित्य, र संस्कृति प्रवर्द्धनमा क्रियाशील संस्था श्री रामगीता वाङ्मय मन्दिर, नेपाल–अमेरिकाले साहित्य, संगीत, कला, रंगमञ्च लगायतका क्षेत्रमा योगदान पुर्याउँदै आएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ। यही क्रममा, मन्दिरले स्थापन गरेका दुई प्रतिष्ठित सम्मानहरू—”नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कार” तथा “रामगीता विशिष्ट नागरिक सम्मान”—यस वर्ष (२०८१) निम्न स्रष्टाहरूलाई प्रदान गर्ने निर्णय गरेको छ।
नइ रामगीता अन्तर्राष्ट्रिय पुरस्कारबाट भूटानी–नेपाली समाजमा साहित्यिक र सांगीतिक माध्यमबाट सामाजिक रूपान्तरणमा समर्पित अभियन्ता श्री खेम रिजाललाई प्रदान गरिनेछ। उनी नेपाली गीत, गजल र कविताको क्षेत्रमा विशेष सक्रिय छन। त्यस्तै रामगीता विशिष्ट नागरिक सम्मानबाट नेपाली आख्यान तथा कवितामा महत्वपूर्ण योगदान पुर्याउँदै सामाजिक रूपान्तरणमा सक्रिय स्रष्टा श्रीमती सीता पाण्डेलाई प्रदान गरिनेछ।
दुवै सम्मानको राशि नेपाली रुपैयाँ ५०,००० नगद र सम्मानपत्र रहेको छ। यस सम्मानका लागि भव्य कार्यक्रम उपयुक्त मितिमा अमेरिकामै आयोजना गरिने मन्दिरका संरक्षक राम खत्री र अध्यक्ष गीता खत्रीले जानकारी दिएका छन्।
यसअघि, मन्दिरले प्रत्येक जोर वर्षमा प्रदान गर्ने “प्रतीक ढकाल-लक्ष्मी सर्वोत्तम कृति पुरस्कार” तथा “अशेष मल्ल-सावित्री रङ्गकर्म पुरस्कार” अन्तर्गत साहित्यकार डा. राजेन्द्र विमल र रङ्गकर्मी हरिहर शर्मालाई सम्मानित गरिसकेको छ।
श्री रामगीता वाङ्मय मन्दिरको यो पहलले नेपाली साहित्य, संस्कृति र सर्जनशीलतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने विश्वास लिइएको छ। प्रेस विज्ञप्तीमा भनिएको छ।
