ग्रेटर न्यूयोर्क नेपाली चेम्बर अफ कमर्शको पहिलो वार्षिकोत्सव सम्पन्न
- ०३ बैशाख २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क – ग्रेटर न्यू योर्क नेपाली चेम्बर अफ कमर्शले आफ्नो पहिलो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। क्वीन्सस्थित जमैकाको म्यारिअट होटलमा आयोजित कार्यक्रममा न्यूयोर्क र वरपरका राज्यका नेपाली व्यवसायी, नेपाली कुटनीतिक प्रतिनिधि, न्यूयोर्क राज्यका सांसद, क्वीन्स काउन्टी चेम्बर अफ कमर्शका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष प्रदीप श्रेष्ठले एक वर्षको अवधिमा ८५ भन्दा बढी नेपाली व्यवसायी संस्थामा आबद्ध भइसकेको जानकारी दिँदै, नेपाली व्यवसाय प्रवर्द्धनका लागि चेम्बरले सक्रियता पूर्वक काम गरिरहेको बताए। उनले संस्थाले व्यवसायिक ज्ञान, सरकारी निकायहरूसँगको समन्वय र लबिङमार्फत व्यवसायीहरूमा आत्मविश्वास बढाएको उल्लेख गरे।
संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि लोकबहादुर थापाले चेम्बरको प्रयासबाट नेपाली व्यवसायीहरूमा आत्मबल बढेको बताउँदै, अमेरिकास्थित नेपाली व्यवसायीले नेपालमा पनि लगानी विस्तार गरी योगदान दिन सक्ने धारणा राखे।
न्यूयोर्क राज्यका एसेम्बली मेम्बर स्टेफन रागाले साना व्यवसायको प्रवर्द्धनका लागि राज्य तथा स्थानीय सरकारको सेवामा नेपाली समुदायको पहुँच बढाउनुपर्ने बताए।
वरिष्ठ कानून व्यवसायी खगेन्द्र जिसीले चेम्बरले व्यवसायिक विकासमा ठूलो भूमिका खेल्न सक्ने भन्दै समुदायलाई एकजुट हुन आग्रह गरे।
कार्यक्रममा सल्लाहकार अमित शाह, आइटी व्यवसायी बालकृष्ण जोशीलगायतले पनि आफ्ना धारणा व्यक्त गरे।
कार्यक्रमअन्तर्गत सञ्चालित छलफल सत्रमा व्यवसाय र सामुदायिक मिडियाबीचको सहकार्य, स्थानीय तथा राज्य सरकारबाट उपलब्ध सेवासुविधा र सुरक्षाका विषयमा अन्तक्र्रिया गरिएको थियो। सो सत्र खासोखास अनलाइनको समन्वयमा सम्पन्न भएको थियो।
कार्यक्रममा कलाकारहरूले गीतसंगीतमार्फत नयाँ वर्ष २०८२ को स्वागत गर्दै मनोरञ्जन प्रदान गरेका थिए।