नेपाल डे परेड २०२५ मे १८ मा म्यानह्याटनमा आयोजना हुने, संयोजकमा मनिता गुरुङ चयन
- ०३ बैशाख २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क –नेपालको सांस्कृतिक सम्पदालाई विश्वव्यापी रुपमा उजागर गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको “नेपाल डे परेड” यस वर्ष सन् २०२५ को मे १८ तारिखमा न्यूयोर्कको म्यानह्याटनमा आयोजना हुने भएको छ। एनआरएनए एनसीसी न्यूयोर्क च्याप्टरले आयोजना गरेको विशेष टाउनहल मिटिङमार्फत उक्त घोषणा गरिएको हो।
उक्त बैठकमा नेपाली समुदायका अगुवा समाजसेवीहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकमा नेपाल डे परेड २०२५ को कार्ययोजना र तयारीका विषयमा गहिरो छलफल गरिएको थियो। सोही अवसरमा परेडको संयोजकमा महिला नेतृत्व चयन गर्दै “तमु समाज अमेरिका” तथा “नेपाली साज”की वरिष्ठ समाजसेवी “मनिता गुरुङ”लाई नियुक्त गरिएको छ। उनलाई संयोजकको रूपमा परेडको सम्पूर्ण तयारीको जिम्मेवारी दिइएको छ।
कार्यक्रम “एनआरएन युएसए न्यूयोर्क च्याप्टरका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष छिरिङ शेर्पाको अध्यक्षतामा” सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन “सचिव राजु तामाङ”ले गरेका थिए भने “स्वागत मन्तव्य महिला उपाध्यक्ष लक्ष्मी थापाले” प्रस्तुत गरेकी थिइन्।
परेडको सफल आयोजनाका लागि विभिन्न क्षेत्रमा जिम्मेवारी बाँडफाँड गर्दै एक Steering Committee गठन गरिएको छ। सह-संयोजकका रूपमा सन्त बहादुर तामाङ (तामाङ समाज अमेरिका), राजन गौली (लङ आइल्याण्ड नेपाली समाज), रिजवुड नेपाली सोसाइटी, दानसिंह बिष्ट (सुदूरपश्चिम समाज अमेरिका), ओम विश्वकर्मा (गोर्खा समाज अमेरिका) र मनोज सिंहलाई चयन गरिएको छ।
त्यसैगरी, अन्य संयोजकहरूमा कृष्ण आचार्यलाई आर्थिक विभाग संयोजक, बेगम पण्डितलाई उप–संयोजक, चमेली परियारलाई प्रचारप्रसार संयोजक, बासु लामिछानेलाई कार्यक्रम व्यवस्थापन प्रमुख, लक्ष्मी थापालाई समुदाय संयोजक तथा रश्मि श्रेष्ठलाई अतिथि सत्कार संयोजकको जिम्मेवारी दिइएको छ।
बैठकमा सहभागी सबैले नेपाल डे परेड २०२५ लाई भव्य र सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
