हावर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनको माग अस्वीकार गर्दै स्वतन्त्रताको पक्षमा अडियो, विद्यार्थी र प्राध्यापकहरू खुसी
- ०३ बैशाख २०८२
- १ मिनेटको पढाई
वासिङटन- हावर्ड विश्वविद्यालयले ट्रम्प प्रशासनका विवादास्पद मागहरू अस्वीकार गरेपछि, क्याम्पसभित्र र शैक्षिक क्षेत्रभर यसको प्रशंसा भइरहेको छ। विश्वविद्यालयले प्रशासनद्वारा पठाइएको मागहरूको पत्र अस्वीकार गर्दै स्वतन्त्रताको पक्षमा दृढ अडान लिएको हो।
हावर्डका अध्यक्ष एलन गर्बरले एक वक्तव्य जारी गर्दै यस्ता मागहरूलाई “हावर्ड समुदायलाई नियन्त्रण गर्ने प्रयास” भन्दै खारेज गरेका छन्। उनका अनुसार विश्वविद्यालयले आफ्नो स्वतन्त्रता र संविधानले दिएको अधिकार छोड्ने छैन।
प्रशासनको मागमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको निगरानी, अमेरिकी मूल्यहरूमा अविश्वास गर्नेहरूलाई प्रवेशमा प्रतिबन्ध, र विदेशी जन्मिएका विद्यार्थीहरूले आचारसंहिताको उल्लंघन गरेमा होमल्याण्ड सेक्युरिटी विभागलाई रिपोर्ट गर्नुपर्ने जस्ता कठोर शर्तहरू थिए।
यस निर्णयको प्रतिक्रियास्वरूप ट्रम्प प्रशासनले हावर्डलाई दिँदै आएको २ अर्ब डलरभन्दा बढीको अनुदान तथा करार रकम रोक्ने निर्णय तुरुन्तै गरेको छ। तर, यस अडानलाई धेरै शिक्षाविद् र विद्यार्थीहरूले “सही र आवश्यक कदम” भन्दै समर्थन जनाएका छन्।
हावर्डमा अध्ययनरत विद्यार्थी हेनरी पालेले यस कदमलाई “नेतृत्वको उदाहरण” भनेका छन्। अर्का विद्यार्थी म्याथ्यू टोबिनले भने, “यो पहिलो पाइला हो, र हामी खुशी छौं। अब विश्वविद्यालयले यस संघर्षमा अझ ठूलो भूमिका खेल्नुपर्छ।”
यसैबीच, कोलम्बिया विश्वविद्यालय, ब्राउन, कोर्नेल, प्रिन्सटन, एमआईटी, क्यालटेक लगायतका संस्थाहरूले पनि सरकारी अनुसन्धानको बजेट कटौतीविरुद्ध संयुक्तरूपमा मुद्दा दायर गरेका छन्।
शैक्षिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हावर्डको यो कदमलाई धेरैले ऐतिहासिक मानिरहेका छन्।