फालमाउथ, म्यासाचुसेट्स – फालमाउथ प्रहरीले स्थानीय सडकहरूबाट रातभरिमा करिब ५०० वटा उल्टो गरी गाडिएका कीला उठाएको छ। यी कीला सडक तथा स्थानीय बासिन्दाहरूका घरअगाडि र ड्राइभवेमा राखिएको भेटिएको हो। अहिले प्रहरीले ती कीला जानाजान राख्ने व्यक्तिको खोजी सुरु गरिसकेको छ।
डन विल्सन नाम गरेका स्थानीय बासिन्दाले प्रहरी विभागको फेसबुक पेजमा पोस्ट गरिएका तस्बिरहरू हेरेपछि आफ्नो गाडीको टायर जाँच गरे। “यो निकै क्रूर हो,” उनले भने।
जोन पार्कर रोडमा त कीलाहरूलाई सडकभरि फैलाएर स्पाइक स्ट्रिपजस्तै बनाइएको थियो। केही कीलाहरू त जानाजान टायरमुनि उल्टो गरी राखिएको भेटिएको थियो।
डेबोरा बेन्ट नामकी अर्की बासिन्दा भन्छिन्, “यो त झस्काउने खालको हो।” उनको घरअगाडि पार्क गरिएको एउटा पिकअप ट्रकको टायरमुनि दुईवटा उल्टो कीला राखिएको थियो, जुन प्रहरीले रातको समयमा उठाएको थियो।
“यदि गाडी अघि बढेको भए, पक्कै पनि टायर पङ्चर हुन्थ्यो। केही कीला सायद गाडीको झ्यालबाट फ्यालिएको हुन सक्छ, तर केही त सीधै टायरमुनि राखिएको देखिन्छ,” बेन्टले भनिन्।
कैथी हार्टफोर्ड नामकी बासिन्दाको गाडी र ड्राइभवे नजिक पनि कीलाहरू फेला परेपछि प्रहरीले रातको २:३० बजे उनको ढोका ढकढक्याएर जानकारी दिएको थियो। “प्रहरीले सायद बच्चाहरू, किशोरहरूले टिकटक वा फेसबुकका लागि स्टन्ट गरेजस्तो अनुमान गरे,” हार्टफोर्डले भनिन्।
सिन्डी कोलिङ्स भन्छिन्, उनले पनि आफ्नो गाडीको टायरमा दुईवटा कीला भेटेपछि प्रहरीलाई खबर गरिन् र गाडी मर्मत केन्द्रमा लग्नुपर्यो। “म अचम्मित भएँ- यो साँच्चै हुँदै रहेछ। मैले सोधे, ‘कस्तो कीला थियो?’ उनले भने- यो ग्याल्भेनाइज्ड कीला थियो, जुन ठीक मेरो घरमा भेटिएको जस्तै हो।”
तर छिमेकीहरू भन्छन्, यो सानो मजाक होइन, गम्भीर दुर्घटनाको जोखिम बोकेको अपराध हो। “मानिसको ज्यानै जान सक्छ, यो त निकै खतरनाक हो,” डन विल्सनले चेतावनी दिए।
फालमाउथ प्रहरीले स्थानीयलाई अनुरोध गरेको छ कि कसैले यस घटनाबारे जानकारी राखेका छन् भने, वा कुनै सीसीटिभी फुटेजमा अभियुक्त देखिएको भए प्रहरीलाई सम्पर्क गर्न।