बेलिजमा अमेरिकी नागरिकद्वारा विमान अपहरण, तीन जनामाथि छुरा प्रहारपछि गोली हानी मारिए
- ०६ बैशाख २०८२
- २ मिनेटको पढाई
न्युयोर्क – बेलिजको फिलिप एस.डब्ल्यू. गोल्डसन अन्तर्राष्ट्रिय विमानस्थलमा एक अमेरिकी नागरिकले सानो विमान अपहरणको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको छ। अपहरणको क्रममा ती व्यक्तिले दुई यात्रु र एक पाइलटमाथि छुरा प्रहार गरेका थिए। घटनाले हिंसात्मक मोड लिँदा ती यात्रुहरूमध्ये एकले प्रतिकार गर्दै आक्रमणकारीलाई गोली हानेर मारिदिएका छन्।
बेलिज र अमेरिकी अधिकारीका अनुसार, आक्रमणकारीको नाम अकिन्येला टेलर हो। उनी अमेरिकी नागरिक हुन् र प्रारम्भिक विवरणअनुसार पूर्व सैनिक समेत रहेको बताइएको छ। यद्यपि अमेरिकी अधिकारीहरूले उनको सैन्य पृष्ठभूमिको पुष्टि गर्न सकेका छैनन्।
हिम्सात्मक घटना बेलिजको कोरोजालबाट सान पेड्रोतर्फ उडेको ‘Cessna Caravan V3HIG’ नामक सानो विमानमा भएको हो। विमानमा १४ यात्रु र २ जना चालक दलका सदस्य थिए। पी.जी.आई.ए. (Philip S.W. Goldson International Airport) का अधिकारीहरूका अनुसार, घटनापछि विमानले करिब दुई घण्टा अनियमित रूपमा आकाशमा फन्का मारेपछि सुरक्षित रूपमा विमानस्थलमा अवतरण गराइएको थियो।
बेलिज प्रहरी प्रमुख चेस्टर विलियम्सले पत्रकारहरूसँग कुरा गर्दै ती यात्रुलाई “नायक” भन्दै प्रशंसा गरेका छन्। “हामी उनको लागि प्रार्थना गरिरहेका छौँ। उनी हाम्रो नायक हुन्,” उनले भने।
घटनापछि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले यो घटना “डरलाग्दो” भएको बताएका छन्। वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ट्यामी ब्रुसले भनिन्, “हामी आभारी छौं कि यो घटना सामूहिक जनहानिमा परिणत भएन। विमानमा एक दर्जनभन्दा बढी व्यक्ति थिए, र यस्ता घटनामा क्षति अझ भयावह हुन सक्थ्यो।”
अहिलेसम्म अकिन्येला टेलरले विमान अपहरणको प्रयास किन गरे भन्ने विषयमा स्पष्ट विवरण आइसकेको छैन। तर बेलिजका अधिकारीहरू अमेरिकी निकायसँग मिलेर घटनाको विस्तृत अनुसन्धान गरिरहेका छन्।
यात्रुहरूमध्ये एक जनाको साहसिक कदमले सम्भावित ठूलो जनधनको क्षति हुनबाट जोगाएको अधिकारीहरूको भनाइ छ। घटनापछि उनले प्रयोग गरेको हतियार प्रहरीलाई स्वेच्छिक रूपमा बुझाएका थिए। अहिले घटनास्थलको थप अध्ययन र सुरक्षाको मूल्याङ्कन गरिँदैछ।