असोज बाढीपहिरो : सातमहिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आकलन सुरु
- ०७ बैशाख २०८२
- १ मिनेटको पढाई
काठमाडौं- काभ्रेपलाञ्चोक। २०८१ असोजमा आएको बाढीपहिरोले बागमती प्रदेशमै सबैभन्दा बढी क्षति पुर्याएको काभ्रेपलाञ्चोकमा घटनाको सात महिनापछि निजी आवासको विस्तृत क्षति आकलन सुरु भएको छ। सरकारले सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट यो कार्य थालेको हो।
गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार क्षति आकलनको सुरुआत गरे। उनले वडा नम्बर २ का तीन जना पीडितलाई क्षति आकलन निस्सा प्रदान गरे। गृहमन्त्री लेखकले प्रक्रियागत रूपमा पुनर्निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै अस्थायी आवास निर्माणका लागि दुई चरणमा ५० हजार रुपैयाँ र स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट अनुदान उपलब्ध गराइने जानकारी दिए। सरकारले अस्थायी आवास निर्माणका लागि काभ्रेमा सात करोड ३५ लाख रुपैयाँ निकासा गरेको छ भने विस्तृत क्षति आकलनका लागि १८ जना प्राविधिक खटाइएको छ।
रोशी गाउँपालिकामा पाँच सय ६३ घर क्षति भएका छन्। यहाँ तीनवटा क्लस्टर बनाएर क्षति आकलनको काम सुरु गरिएको छ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विस्तृत क्षति आकलनपछि पुनर्निर्माणको कामले गति लिने विश्वास व्यक्त गरे। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्टले पीडितले चाहेमा अस्थायी र स्थायी आवास निर्माणको काम एकैपटक गर्न सकिने बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँले वर्षाअघि रोशीमा जाने सडक निर्माणमा जोड दिनुपर्ने बताए। बाढीपहिरोबाट काभ्रेपलाञ्चोकमा ८१ जनाको निधन भएको छ भने छ जना अझै बेपत्ता छन्। यहाँ अर्बौंको भौतिक संरचनामा क्षति पुगेको छ। बाढीपहिरोले जिल्लाको १३ स्थानीय तहमध्ये पनौती नगरपालिकाको रोशी क्षेत्र तथा रोशी र बेथानचोक गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको थियो।