शिक्षक आन्दोलन चर्किदै गएपछि शिक्षामन्त्री भट्टराईले दिईन् राजीनामा
- ०८ बैशाख २०८२
- १ मिनेटको पढाई
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले आज (सोमबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षा ऐन तत्काल जारी हुनुपर्ने मागसहित शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा होमिएको २०औं दिनमा उनले राजीनामा बुझाएकी हुन् ।
विद्यालय शिक्षा विधेयकको विषयमा प्रधानमन्त्री ओली र मन्त्री भट्टराईबीच लामो समयदेखि मतभेद रहँदै आएको गाइँगुईँ चलिरहेको थियो । उक्त गाइँगुइँका बीच शिक्षा मन्त्री भट्टराईले राजीनामा बुझाएकी छन् ।
आन्दोलनरत शिक्षकहरुलाई मन्त्रालयले यसअघि दुई पटक वार्तामा बस्न आह्वान गरेको थियो । मन्त्रालयको आह्वानलाई बेवास्ता गरी शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले २० दिनदेखि लगातार काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका छन् । जसको कारण सर्वसाधरण जनताको दैनिकी अस्तव्यस्त बनिरहेको छ भने एसईईको उत्तरपुस्तिका परीक्षण कार्य अलपत्र बनेको छ ।
त्यस्तै, आगामी वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षासमेत अन्यौलतामा धकेलिएको छ । यी साह्रा अनिश्चितता र अन्यौलताका बीच मन्त्री भट्टराईले पदबाट राजीनामा दिएकी हुन् ।