९ बैशाख २०८२, मङ्लबार
22 April 2025, Tuesday

एनआरएनए एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा

एनआरएनए एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आगामी वैशाख २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना हुने एकताको महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार गठित उच्चस्तरीय समितिले तय गरेको कार्ययोजना बमोजिम महाधिवेशनको तयारीहरू अन्तिम चरणमा पुगेको संयोजक डा.शेष घलेले जानकारी दिए ।

समितिका संयोजक डा.घलेका अनुसार निर्वाचन समिति गठन भइसकेको छ भने सदस्यता नवीकरण तथा वितरण प्रक्रिया पनि सम्पन्न भएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको छनोट प्रक्रिया वैशाख ९ गतेसम्म कायम रहने छ । हालसम्म विभिन्न मुलुकबाट प्रतिनिधिहरू काठमाडौँ आइपुगिसकेका छन् भने थप प्रतिनिधिहरू आउने क्रम जारी छ ।

डा. घलेले अदालतको आदेश बमोजिम तोकिएको समयमै कार्य सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको जनाउँदै मिति परिमार्जन गर्ने कुनै विकल्प नरहेको स्पष्ट पारे ।

उनले निर्धारित कार्ययोजना समयमै सम्पन्न नगरे अदालतको अवहेलनामा पर्ने भएकाले सम्पूर्ण पदाधिकारी, प्रतिनिधि तथा सरोकारवालाहरूलाई आफ्नो तहबाट सक्दो सहयोग गर्न अपिल समेत गरेका छन् ।

सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा एकता महाधिवेशन उच्च स्तरीय कुल समिति तथा प्रचार प्रसार समिति संयोजक रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेबपोर्टलमा १६ हजार बढीले सदस्यताका लागि आवेदन दिएको जानकारी दिइन् । ‘एनसीसीहरुमा आवद्ध भएर एनसीसीले उच्चस्तरीय समितिलाई पठाएको संख्या जोड्ने हो भने ४७ हजार बढी रहेको छ । उच्चस्तरीय समितिको वेबपोर्टल र एनसीसीहरुबाट आएको संख्या जोड्दा ६३ हजार बढी जना सदस्य बन्नु भएको छ,’ उनले भनिन् ।

त्यस्तै उनले उच्च स्तरीय समितिको १४ पटक बैठक बसिसकेको पनि जानकारी दिइन् । उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको पटक पटकको पत्राचारका बाबजुद संघको सचिवालय, एमआइएस प्रणाली लगायतमा पहुँच नदिइएकाले उच्चस्तरीय समितिले आफ्नै वेब पोर्टलमा सदस्यता आह्वान गरेको जनाइन् । साथै महाधिवेशन सम्पन्न गर्नका लागि वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको जानकारी दिइन् ।

 

प्रेस विज्ञप्ति

मितिः २१  अप्रिल २०२५

प्रिय सञ्चारकर्मी मित्रहरू,

नमस्कार !

सर्वप्रथम नयाँ वर्ष २०८२ को सुखद अवसरमा नेपाल तथा संसारभरि रहनु भएका नेपालीहरू लगायत तपाईँ सञ्चारकर्मी मित्रहरूमा सुख, शान्ति तथा समुन्नतिको लागि  मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

१. लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउने जिम्मेवारी सम्मानित सर्वोच्च अदालतको परमादेशबाट प्राप्त भए पछि डा. शेष घलेको अध्यक्षतामा गठित एनआरएनए उच्चस्तरीय  समितिको आह्वानमा आगामी मे ३–५, २०२५ मा काठमाडौँमा गैर आवासीय नेपाली संघको एकता महाधिवेशन आयोजना गर्न लागिएको जानकारी गराउन चाहन्छौँ। एनआरएनएको एकता महाधिवेशनमा बढी भन्दा बढी  एनआरएनहरूको सहभागिता हुन सकोस्  भन्ने उद्देश्यले निःशुल्क सदस्यताको व्यवस्था गर्नुका  साथै सदस्यताका लागि आवेदन दिने मिति पटक पटक थप गरिएको थियो।

एनआरएनए उच्चस्तरीय समितिको वेबपोर्टलमा १६ हजार बढीले सदस्यताका लागि आवेदन दिनुभयो भने एनसीसीहरुमा आवद्ध भएर एनसीसीले उच्चस्तरीय समितिलाई पठाएको संख्या जोड्ने हो भने ४७ हजार बढी रहेको छ ।  उच्चस्तरीय समितिको वेबपोर्टल र एनसीसीहरुबाट आएको संख्या जोड्दा ६३ हजार बढी जना सदस्य बन्नु भएको छ ।

यसैगरी एकता महाधिवेशनमा प्रतिनिधि (डेलिगेट्स) को रूपमा सहभागी हुन आइतबार (२० अप्रिलसम्म)   २५ सय बढी  जनाले निवेदन दिई सक्नु भएको छ।   डेलिगेट्स बन्न आवेदन दिने मिति २२ अप्रिल २०२५ (नेपाल समय राती ११ः५९ बजे) सम्म रहेको छ।  उक्त अवधिभित्रै  डेलिगेट्स बन्न आवेदन दिनुका साथै भौतिक रूपमै काठमाडौँमा उपस्थित भएर संस्थाको नयाँ विधान बनाउने तथा नयाँ कार्य समिति चयन गर्ने प्रक्रियामा सहभागी हुन हामी एनआरएनएका  सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई आह्वान गर्दछौँ। डेलिगेट्स बन्नु भएकाहरु आफू स्वयम् पनि    नेतृत्वमा दावी गर्नका लागि स्वतन्त्र हुनुहुन्छ । यसलाई हामीले एनआरएनएको लोकतान्त्रिककरणको रुपमा लिएका छौं । डेलिगेट्स बन्नका लागि अनिवार्यरुपमा बैंकमा रकम जम्मा गर्नु पर्ने छ । बैंकको विवरण यस प्रकार छ ।

बैंकको नामः प्रभु बैंक

ब्रान्चः हेड अफिस बबरमहल

खाताको नामः शेष घले विनो कुवँर र कुल आचार्य (संयुक्त)

खाता नम्बरः ००१०१९६९८००००१०३

२. ऐतिहासिक एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडी बढी रहेको छ।  अहिलेसम्म उच्चस्तरीय समितिको १४ पटक बैठक बसी सकेको छ भने नेपाल सरकारका प्रतिनिधिहरू पनि ती बैठकमा सहभागी भई रहनु भएको छ।  सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको पटक पटकको पत्राचारका बाबजुद संघको सचिवालय, एमआइएस प्रणाली लगायतमा पहुँच नदिइएकाले उच्चस्तरीय समितिले आफ्नै वेब पोर्टलमा सदस्यता आह्वान ग¥यो भने राष्ट्रिय समन्वय परिषदहरुलाई पनि सहयोगका लागि आग्रह ग¥यो। एकता महाधिवेशनका लागि नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद् – आइसिसी) निर्वाचित गर्नका लागि निर्वाचन समिति गठन भई सकेको छ। वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको संयोजकत्वमा गठित निर्वाचन समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशीष उप्रेती रहनु भएको छ।    निर्वाचन समितिले आफ्नो काम पनि सुरु गरी सकेको छ।  नेतृत्वका लागि उम्मेदवार बन्नेहरुको शुल्क पनि तोकिसकेका छौं । निर्वाचनलाई स्वच्छ पारदर्शी र मर्यादित बनाउनका लागि सङ्घका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति पनि गठन गरिएको छ।

३. सन् २००३ मा स्थापना गरिएको एनआरएनए अहिले एउटा महत्त्वपूर्ण मोडमा आइ पुगेको छ। यो अवधिमा नेपालमा लगानी बढाउने,  नेपाल सरकारसँग निकट सम्पर्कमा रही प्रवासमा रहेका गैर आवासीय नेपालीहरूको हक हित संरक्षण गर्ने तथा अन्य सामाजिक कल्याणकारी कामहरू सम्पन्न भएका छन्।  तर संघ भित्रै आन्तरिक विवादलाई सुल्झाउन नसक्दा विभिन्न तहका अदालतसम्म पुग्नु परेको तथ्य पनि हामीले बिर्सन मिल्दैन।   अब थप समय खेर फाल्ने मौका पनि छैन।  त्यसैले कानुनको सर्वोच्चताको पालना गर्दै  खुला छलफल, वार्ता र संवादको माध्यमबाट  संस्थालाई एकजुट बनाउन  र तोकिएको मिति (३–५ मे, २०२५) मा काठमाडौँमा भेला भएर  संघको  एकता महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न   आआफ्नो क्षेत्रबाट पहल गर्न पनि हामी सम्पूर्ण गैर आवासीय नेपालीहरूमा  अपिल गर्दछौँ। डेलिगेट्स मित्रहरू काठमाडौँ  आउने क्रम सुरु भई सकेको छ।  डेलिगेट्सहरुलाई कुनै पनि सूचना वा जानकारी आवश्यक भएमा उच्चस्तरीय समितिको सचिवालयमा सम्पर्क गर्न पनि अनुरोध गर्दछौँ।

रबिना थापा

सदस्य सचिव एकता महाधिवेशन उच्चस्तरीय समिति

तथा केन्द्रीय संयोजक प्रचार प्रसार समिति