९ बैशाख २०८२, मङ्लबार
22 April 2025, Tuesday

मेरिल्याण्डको नेसनल हार्बरमा छुरा प्रहार र आगजनीका अभियुक्त प्रहरीद्वारा मारिए

मेरिल्याण्डको नेसनल हार्बरमा छुरा प्रहार र आगजनीका अभियुक्त प्रहरीद्वारा मारिए

मेरिल्याण्ड- इस्टर आइतबारको बिहान मेरिल्याण्डको नेसनल हार्बर क्षेत्रमा एक छुरा आक्रमण तथा आगजनीका घटनामा संलग्न अभियुक्त प्रहरीद्वारा गोली प्रहारमा मारिएका छन्।

प्रिन्स जर्ज काउन्टी प्रहरी विभागका प्रमुख मलिक अजीजले पत्रकार सम्मेलनमा जानकारी दिँदै बिहान करिब ८:२० बजे प्रहरीलाई छुरा प्रहारको खबर आएपछि घटनास्थलमा पुगेका अधिकारीहरूले एक पुरुष र एक महिलालाई गम्भीर घाइते अवस्थामा फेला पारेको बताए।

“घटनास्थलबाट भाग्नु अघि अभियुक्तले अपार्टमेन्टमा आगो लगाएका थिए,” प्रमुख अजीजले बताए। “घटना घरेलु हिंसासम्बन्धी भएको पुष्टि भएको छ र अभियुक्त पीडितहरूलाई चिन्थे।”

करिब दुई घण्टापछि प्रहरीले नेसनल हार्बरको सेन्ट जर्ज बुलेवार्ड र पोटोम्याक पैसेज नजिकै उक्त अभियुक्तलाई फेला पारे।

अजीजका अनुसार, “अभियुक्तको हातमा अझै छुरा थियो र उनी प्रहरीतर्फ अगाडि बढे।”

त्यसपछि दुई जना प्रहरी अधिकारीहरूले गोली प्रहार गरे। अभियुक्तलाई कति गोली लागेर घाइते भए भन्ने खुलाइएको छैन, तर उनलाई नजिकैको अस्पताल लगिए पनि उनको मृत्यु भएको हो।

घटनामा कुनै पनि प्रहरी घाइते भएका छैनन्। घाइते पीडितहरू गम्भीर अवस्थामा भए पनि स्थिर रहेको प्रहरीले जनाएको छ।

अभियुक्त र पीडितहरूबीचको सम्बन्ध अझै पुष्टि गरिएको छैन भने उनीहरूको परिचय पनि सार्वजनिक गरिएको छैन।

प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ।