न्यूयोर्क- विश्वभरका क्याथोलिक धर्मावलम्बीहरूले पोप फ्रान्सिसको निधनमा शोक व्यक्त गरिरहेका बेला, अमेरिकाको ट्राइ-स्टेट क्षेत्रले पनि उनको योगदानप्रति श्रद्धाञ्जली अर्पण गरिरहेको छ।
पोप फ्रान्सिसलाई २०२५ फेब्रुअरी १४ मा गम्भीर स्वासप्रश्वाससम्बन्धी समस्याका कारण रोमको जेमेल्ली अस्पतालमा भर्ना गरिएको थियो। उनलाई डबल निमोनिया र मिर्गौलासम्बन्धी प्रारम्भिक समस्याहरू देखिएका थिए। ८८ वर्षीय पोपले त्यहाँ ३८ दिन उपचारपछि अन्ततः जीवनलाई बिदाइ गरे।
अमेरिकाको भ्रमण: विश्वास, करुणा र न्यायको सन्देश
पोप फ्रान्सिसको सन् २०१५ को अमेरिकाको भ्रमण विशेष स्मरणीय रह्यो। उनले वासिङ्टन डीसी, न्यूयोर्क र फिलाडेल्फिया भ्रमण गर्दा बेघर मानिसहरूसँग भेट गरे, यौनदुराचार पीडितहरूप्रति सहानुभूति प्रकट गरे, र झन्डै ९/११ पीडितका परिवारसँग ग्राउण्ड जिरोमा प्रार्थना गरे।
न्यूयोर्कमा, उनले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै वातावरण संरक्षण र आणविक हतियार निषेधको अपिल गरे। उनको कथन, “प्रकृतिलाई गरिएको क्षति मानवतामाथि गरिएको क्षति हो,” विश्वभर गुञ्जायमान भयो।
जनसमुदायसँगको आत्मीयता
उनको न्यूयोर्क आगमनका बेला जेएफके विमानस्थलमा हजारौं श्रद्धालुहरूले स्वागत गरे। सेन्ट्रल पार्कमा उहाँको झलक पाउन घण्टौं पर्खिएका जनसमुदायहरूले आकाशमा देखिएको इन्द्रेणीलाई “आशीर्वाद” को रूपमा स्वीकारे।
म्याडिसन स्क्वायर गार्डेनमा आयोजित विशाल धर्मसभामा पोपले आफ्ना प्रवचनहरू स्पेनिश भाषामा दिँदै “ईश्वर सहरमै छन्” भन्ने सन्देश दिए।
उनले सहरको व्यस्ततामा बेपत्ता भइरहेका बेघर, आप्रवासी, वृद्ध र शिक्षा वा स्वास्थ्य सेवा नपाएका वर्गप्रति ध्यानाकर्षण गराउँदै भने, “यी मानिसहरू हाम्रो सडक र एभेन्यूहरूमा अनामिक रूपमा हराइरहेका छन्।”
जीवनी: साधारण जीवनबाट पवित्र सिंहासनसम्म
पोप फ्रान्सिसको जन्म अर्जेन्टिनामा एक मध्यमवर्गीय इटालियन आप्रवासी परिवारमा भएको थियो। जन्मनाम जोर्ज मारियो बेर्गोलियो, उनले प्रारम्भमा रसायन प्राविधिक अध्ययन गरे, तर पछि धर्मको सेवामा लागे। सन् १९६९ मा उनले पुरोहितत्व प्राप्त गरे।
उनले आफूलाई “फ्रान्सिस” नाम दिने निर्णय गरेर सन्त फ्रान्सिस अफ असिसीप्रतिको श्रद्धा प्रकट गरे, जसले धनसम्पत्ति त्यागेर गरिबी र शान्तिको बाटो समातेका थिए।
चर्च सुधारको पक्षपाती
पोप फ्रान्सिस आफ्नो प्रगतिशील सोचका लागि चिनिन्थे। वातावरण संरक्षण, एलजीबीटीक्यू समुदायप्रति सहानुभूति, यौनदुराचार पीडितहरूप्रति क्षमा र न्यायको माग, तथा चर्चमा महिलाको भूमिकालाई बढावा दिने विषयमा उनले विशेष पहल गरे।
उनले सन् २०१९ मा सबै पुरोहित तथा ननहरूलाई यौनदुराचारको घटनाबारे प्रत्यक्ष रूपमा रिपोर्ट गर्न अनिवार्य बनाउने नयाँ कडा नियम ल्याए। साथै, चर्चको इतिहासमा पहिलो पटक एक महिलालाई (सिस्टर सिमोना ब्राम्बिल्ला) प्रमुख भ्याटिकन विभागको प्रमुख पदमा नियुक्त गरे।
अमेरिकी राजनीति प्रतिकाे दृष्टिकोण
डोनाल्ड ट्रम्प प्रशासनको आप्रवासी नीति प्रति पोप फ्रान्सिस निकै आलोचक हुनुहुन्थ्यो। उनले पर्खाल बनाउने योजनालाई “अख्रिस्टियन” भन्नुका साथै, संयुक्त राष्ट्रसंघमा जातीय भेदभाव र घृणाका विरुद्ध सन्देश दिनुभएको थियो।
आलोचना र विवादहरू
पोप फ्रान्सिसको जीवनमा केही विवादास्पद पृष्ठहरू पनि रहे। अर्जेन्टिनाको ‘डर्टी वार’ दौरान उनको भूमिकामाथि प्रश्न उठाइएका थिए। तर, उनले जोखिम मोलेर पुरोहितहरूको ज्यान जोगाउन गोप्य प्रयास गर्नुभएको जीवनीकारले उल्लेख गरेका छन्।
एलजीबीटीक्यू+ समुदायसम्बन्धी केही अभिव्यक्तिहरूले आलोचना पनि खेपे, तर उनले अन्ततः सबैलाई चर्चको हिस्सा मान्ने र समावेशी दृष्टिकोणको समर्थन गरेका थिए।