न्युयोर्क- न्यू जर्सीको ओसन काउन्टीमा लागेको एक विशाल बनडढेलोका कारण हजारौं मानिसहरू विस्थापित भएका छन् कैयौं सडकहरू बन्द गरिएको छ।
बार्नेगट टाउनशिपमा सुरु भएको “जोन्स वाइल्डफायर” नामक आगलागीले हालसम्म करिब ३,२०० एकड क्षेत्र जलेको पुष्टि गरिएको छ। उक्त आगलागीले करिब १,३२० घर तथा संरचनाहरूलाई खतरा पुर्याएको छ भने ३,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ।
न्यु जर्सीको वन डिभिजनका अनुसार मंगलबार दिउँसो १२:२२ बजे सामाजिक सञ्जालमार्फत् आगलागीबारे पहिलो जानकारी दिइएको थियो। साँझ ८:३० बजेसम्म आगो निकै फैलिइसकेको थियो र नियन्त्रणमा ल्याउन निकै कठिन भइरहेको बताइएको छ। आगो नियन्त्रणका लागि विशेष हेलिकोप्टर, बुलडोजर, अग्नि नियन्त्रक यन्त्रहरू र दर्जनौं कर्मचारीहरू परिचालन गरिएको छ। एक हेलिकोप्टरबाट ३०० ग्यालन पानी खसाल्न सकिन्छ भने अर्को हेलिकोप्टरले आगोको निरीक्षण गरिरहेको छ। थप रूपमा ६०० ग्यालन पानी खसाल्न सक्ने एउटा ठूलो ट्यांकर पनि प्रयोग गरिएको छ।
गार्डेन स्टेट पार्कवे, जो कि मुख्य राजमार्ग हो, बार्नेगट र लेसी टाउनशिपका केही भागहरूबीच पूर्ण रूपमा बन्द गरिएको छ। साथै, अन्य महत्त्वपूर्ण सडकहरू जस्तै रुट ५३२, ब्रायन्ट रोड, जोन्स रोड लगायतका सडकहरू पनि बन्द गरिएको जनाइएको छ। ट्राफिक अत्यन्तै भीडभाड भएको कारण स्थानीय बासिन्दाहरूलाई गन्तव्यमा पुग्न तीन घण्टा भन्दा बढी समय लागेको छ।
बिजुली आपूर्ति पनि प्रभावित बनेको छ। लेसी टाउनशिपमा १०,७१६ भन्दा बढी, बार्नेगट टाउनशिपमा ८,६५३ भन्दा बढी, ओसन टाउनशिपमा ५,३०० भन्दा बढी र बर्केली टाउनशिपमा ७४२ भन्दा बढी ग्राहकहरू विद्युतविहीन भएका छन्। बार्नेगट प्रहरीले ओइस्टर क्रिक आणविक केन्द्र नजिकको विद्युत ग्रिडको अवस्थाबारे हालसम्म केही यकिन नभएको बताएको छ।
विस्थापित नागरिकहरूका लागि आश्रयस्थलहरू पनि खोलिएका छन्। बार्नेगटका बासिन्दाहरूलाई साउदर्न रिजनल हाई स्कूलमा आश्रय लिने व्यवस्था गरिएको छ। लेसी टाउनशिपका नागरिकहरूलाई म्यानचेस्टर टाउनशिप हाई स्कूलमा लैजाने व्यवस्था गरिएको छ, किनभने पहिले खुलाइएको चार्ल्स स्मिथ कम्युनिटी सेन्टरमा बिजुली काटिएको छ।
स्थानीयहरू आफैँले पनि एक अर्कालाई सहयोग गरिरहेका छन्। केही बासिन्दाहरूले फेस बुकमा पोस्ट देखेर घोडाहरूको उद्धार गर्न ट्रेलर ल्याई सहयोग गरेका छन्। स्थानीय बासिन्दा लेस्ली लर्ड डिफ्रान्सियाले घोडाहरू परिवार जस्तै भएकाले उद्धार गर्दा भावुक अनुभव भएको बताइन्।
लेसी टाउनशिपका मेयर पीटर कुराटोलोले यस्तो आगलागी टाउनशिपको इतिहासमै देखिएको सबैभन्दा ठूलो भएको बताएका छन्। दृश्यता कमजोर भएकोले सडकमा सावधानीपूर्वक यात्रा गर्न अधिकारीहरूले अनुरोध गरेका छन्। आगो नियन्त्रणमा ल्याउन अझै समय लाग्ने सम्भावना रहेको र स्थानीयवासीलाई सचेत रहन आग्रह गरिएको छ।