१० बैशाख २०८२, बुधबार
23 April 2025, Wednesday

ट्रम्प प्रशासनले अमेरिकामा रहेका आप्रवासी आतंकवादी समूहविरुद्ध पहिलोपटक र्याकेटियरिङ मुद्दा दायर गर्‍यो

ट्रम्प प्रशासनले अमेरिकामा रहेका आप्रवासी आतंकवादी समूहविरुद्ध पहिलोपटक र्याकेटियरिङ मुद्दा दायर गर्‍यो

न्युयोर्क- अमेरिकामा रहेका आप्रवासी आतंकवादी समूह ‘ट्रेन डे अरागुआ’का सदस्य तथा सहयोगीहरू विरुद्ध पहिलोपटक र्याकेटियरिङ मुद्दा न्यूयोर्कमा दायर गरिएको छ।

संयुक्त राज्यको दक्षिणी न्यूयोर्कस्थित अटर्नी कार्यालयले दिएको विज्ञप्तिमा भनिएको छ कि यो मुद्दा “अपरेशन टेक ब्याक अमेरिका” अन्तर्गत दायर गरिएको हो। उक्त अभियान अमेरिकी न्याय मन्त्रालयको सम्पूर्ण स्रोत प्रयोग गरेर अवैध आप्रवासीहरूको आक्रमण रोक्ने, आपराधिक गिरोह र अन्तर्राष्ट्रिय आपराधिक संगठनहरूलाई पूर्ण रूपमा समाप्त पार्ने, र अमेरिकाको समुदायलाई हिंसात्मक अपराधबाट सुरक्षित राख्ने उद्देश्यले सञ्चालन गरिएको हो।

विज्ञप्तिअनुसार, २७ जना आरोपितहरू (हालका तथा पूर्व सदस्यहरू) विरुद्ध मानव तस्करी, यौन व्यापार, हत्या, लुटपाट, व्यवसायिक धम्की, र नशालु पदार्थको कारोबारजस्ता गम्भीर आरोपहरू दायर गरिएको छ।

कार्यवाहक अमेरिकी अटर्नी म्याथ्यु पोडोल्स्कीले भने,
“हामीले आज ट्रेन डे अरागुआका सदस्य, पूर्व सदस्य, र सहयोगीहरू विरुद्ध मुद्दा दायर गरेका छौं जसले हत्या, गोलीकाण्ड, भेनेजुएलाबाट तस्करी गरेर ल्याइएका युवतीहरूलाई यौन व्यापारमा जबरजस्ती लगाउने, साना व्यवसायहरूलाई धम्क्याउने र ‘टुसी’ नामक गुलाबी नशालु पदार्थ बेच्नेजस्ता अपराधहरू गरेका छन्।”

उनले थपे,
“यी अभियोगहरूले प्रस्ट पार्दछ कि हाम्रो कार्यालय न्यूयोर्कका सर्वसाधारणलाई सुरक्षित राख्न दृढ छ र हिंसा फैलाउनेहरूलाई कानूनी दायरामा ल्याउनेछ।”

मुद्दाहरू दुई छुट्टाछुट्टै अभियोगपत्रमा दायर गरिएको छ — पहिलो ६ जना वर्तमान सदस्यहरू विरुद्ध र दोस्रो २१ जना ‘एन्टि-ट्रेन’ (पूर्व TdA सदस्यहरूको पृथक गिरोह) विरुद्ध।

अमेरिकाको ट्रम्प प्रशासनअन्तर्गत विदेश मन्त्रालयले ‘ट्रेन डे अरागुआ’ र अन्य आप्रवासी गिरोहहरूलाई विदेशी आतंकवादी संगठनको रूपमा घोषणा गरिसकेको छ।

अमेरिकी अटर्नी कार्यालयका अनुसार २७ मध्ये २१ जना आरोपितहरू हाल संघीय नियन्त्रणमा छन् — १६ जना पहिले नै विभिन्न आपराधिक वा आप्रवासी हिरासतमा थिए भने बाँकी ५ जनालाई केही दिनअघि मात्र पक्राउ गरिएको हो।

अभियोगीहरूमध्धे अधिकांशको उमेर बीसको दशकमा छ भने जेठा अभियुक्त ४४ वर्षका छन्। अभियोग पुष्टि भएमा धेरैलाई जीवनभरको जेल सजाय हुन सक्छ।

प्रमुख अभियोगहरूमा र्याकेटियरिङ, यौन तस्करी, आप्रवासी तस्करी, लागू पदार्थ कारोबार, सवारी अपहरण षड्यन्त्र, लुटपाट, गैरकानुनी हतियार राख्ने र प्रयोग गर्ने, तथा धम्की जस्ता अपराधहरू सामेल छन्।

विशेष रूपमा उल्लेखनीय कुरा के छ भने यी गिरोहहरूले “मुल्तादा” भनिने बंधक यौन श्रमिकहरूलाई भेनेजुएलाबाट पेरू र अमेरिकासम्म तस्करी गरेर यौन दासत्वमा राख्ने काम गरेका छन्। TdA र Anti-Tren दुबै समूहले ती महिलालाई र उनीहरूका परिवारलाई हत्या गर्ने धम्की, गोली हान्ने, र भाग्ने प्रयास गर्नेहरूमाथि आक्रमण गर्ने जस्ता कार्य गरेर नियन्त्रणमा राख्ने गरेका थिए।

अमेरिकी महान्यायाधिवक्ता प्याम बोंडीले भनिन्:
“आजको अभियोग र गिरफ्तारीले तीनवटा राज्यमा फैलिएको TdAको संरचनालाई ध्वस्त पार्नेछ। हामी यो संगठनलाई अमेरिकाबाट पूर्ण रूपमा नष्ट गर्ने प्रयत्नमा छौं।”

बोंडीले थपिन्,
“ट्रेन डे अरागुआ केवल सडकको गिरोह होइन, यो एक संगठित आतंकवादी संगठन हो जसले हिंसात्मक अपराध, मानव तस्करी, र नशालु पदार्थको प्रयोगमार्फत अमेरिकी परिवारहरूलाई तहसनहस बनाएको छ।”

न्यूयोर्क प्रहरी विभागकी आयुक्त जेसिका टिशले भने,
“यो पहिलोपटक हो जब TdAलाई एक आपराधिक संगठनको रूपमा चिनेर अभियोग लगाइएको छ। उनीहरूले न्यूयोर्क शहरका जनताको सुरक्षालाई सधैँ उपेक्षा गर्दै आएका छन्।”

संयुक्त राज्यको अटर्नी कार्यालयले यो केसमा Joint Task Force Vulcan (सन् २०१९ मा MS-13 गिरोह विरुद्ध गठन गरिएको टास्क फोर्स, जसको कार्यक्षेत्र अहिले TdA सम्म विस्तार गरिएको छ) को महत्वपूर्ण सहयोग रहेको जानकारी दिएको छ।