१४ बैशाख २०८२, आइतवार
27 April 2025, Sunday

आप्रवासन नीतिमा ट्रम्पको समर्थन कायम, तर धेरैकाे “अत्यधिक” भएको टिप्पणी

आप्रवासन नीतिमा ट्रम्पको समर्थन कायम, तर धेरैकाे “अत्यधिक” भएको टिप्पणी

वासिङ्टन – राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी कदम अमेरिकामा अझै बलियो मुद्दा बनेको देखिएको छ। एपी–एनओआरसी केन्द्रले हालै गरेको सर्वेक्षणअनुसार ४६ प्रतिशत अमेरिकी नागरिकले ट्रम्पको आप्रवासन नीति प्रति समर्थन जनाएका छन्। यो प्रतिशत ट्रम्पको अर्थतन्त्र र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी नीतिप्रति प्राप्त समर्थनभन्दा करिब १० प्रतिशत बढी हो।

सर्वेक्षणले देखाएको छ कि आप्रवासनका विषयमा ट्रम्पको धारणा रिपब्लिकन समर्थकहरूमा विशेष रूपमा लोकप्रिय रहेको छ। करिब ८० प्रतिशत रिपब्लिकन समर्थकहरूले उनको आप्रवासन नीतिलाई समर्थन गरे पनि स्वतन्त्र र डेमोक्र्याट समर्थकहरूले भने आलोचना गरेका छन्। स्वतन्त्र मत दातामध्ये करिब ४० प्रतिशत र डेमोक्र्याटहरूमध्ये मात्र २० प्रतिशतले ट्रम्पको नीति प्रति समर्थन जनाएका छन्।

तर सर्वेक्षणमा करिब आधा अमेरिकीले ट्रम्पले अवैध आप्रवासीहरूको निष्कासनमा “अत्यधिक” कदम चालेको बताएका छन्। एक तिहाइले उनको नीति “उचित” रहेको बताएका छन् भने करिब २० प्रतिशतले अझ कडा कदम चालिनुपर्ने बताएका छन्।

भेनेजुएलाका आप्रवासीहरूलाई गिरोह सदस्य भएको आरोपमा एल साल्भाडोर पठाउने तथा प्रोप्यालेस्टिनियन प्रदर्शनमा संलग्न विदेशी विद्यार्थीहरूको भिसा रद्द गर्ने कदमप्रति जनमत विभाजित देखिएको छ। विशेष गरी भिसा रद्द गर्ने कदमप्रति अमेरिकाका विश्वविद्यालय शिक्षित वर्गमा विरोध देखिएको छ, जहाँ ६० प्रतिशतले यसको विरोध जनाएका छन्।

सर्वेक्षणमा उल्लेख भएअनुसार, आप्रवासनसम्बन्धी मुद्दाहरूमा ट्रम्पको समर्थन अझै कायम रहे पनि अमेरिकामा यसको विषयमा गहिरो मतभेद रहेको प्रस्ट भएको छ।