फ्लोरिडामा ठूलो ‘टाइडल वेभ’ अभियान: करिब ८०० अवैध आप्रवासी पक्राउ
- १४ बैशाख २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (ICE) र फ्लोरिडाका कानुन कार्यान्वयन निकायहरूले संयुक्त रूपमा सञ्चालन गरेको ‘अप्रेसन टाइडल वेभ’ अन्तर्गत पहिलो चार दिनमै करिब ८०० अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको छ।
फक्स न्यूजले प्राप्त गरेको विवरणअनुसार, पक्राउ परेकामध्ये कतिपय गम्भीर अपराधमा संलग्न व्यक्ति पनि छन्। तीमध्ये कोलम्बियामा हत्या अभियोगमा दोषी ठहर भएका जोसे सान्चेज रेयेस, एमएस–१३ र १८औं स्ट्रिट गिरोहका सदस्यहरू तथा रूसमा सवारी दुर्घटनाबाट मृत्यु गराएको अभियोगमा इन्टरपोल रेड नोटिस जारी गरिएका सावा क्लिश्चेभ्स्की रहेका छन्।
त्यस्तै, ग्वाटेमालाका अवैध आप्रवासी र एमएस–१३ गिरोहका सदस्य राफाएल जुआरेक्स काब्रेरा तीनपटक अवैध रूपमा अमेरिका प्रवेश गरेकोमा दोषी ठहर भएका छन्। होन्डुरसका आरोन इसाक मोरजान–इजागुइरे भने १८औं स्ट्रिट गिरोहका परिचित वा शंका गरिएका आतङ्ककारी सदस्य हुन् र उनले दुईपटक अवैध रूपमा अमेरिका पुनः प्रवेश गरेको आरोप छ।
‘अपरेसन टाइडल वेभ’ अभियान जारी नै रहेको र फ्लोरिडाले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक निष्कासन अभियानलाई सहयोग गरिरहेको अधिकारीहरूले जनाएका छन्।
भन्सार तथा सीमा सुरक्षा (CBP) ले यस अपरेसनमा “असाधारण सहयोग” प्रदान गरेको जनाइएको छ। ICE ले सामाजिक सञ्जाल X मार्फत सार्वजनिक वक्तव्य जारी गर्दै आन्तरिक सुरक्षाका साझेदारहरूको प्रतिबद्धता प्रति कृतज्ञता व्यक्त गरेको छ।
यसैबीच, अवैध आप्रवासीहरूलाई लुकाउन मद्दत गरेको आरोपमा दुईजना न्यायाधीशहरू पक्राउ परेका छन्। मिल्वाकी काउन्टी सर्किट कोर्टकी न्यायाधीश हान्ना डुगनमाथि ICE बाट आप्रवासी लुकाएको आरोपमा कारवाही भइरहेको छ। त्यस्तै, पूर्व दोना आना काउन्टी मजिस्ट्रेट न्यायाधीश जोएल कानो र उनकी पत्नी न्यान्सी कानोमाथि भेनेजुएलाको ‘ट्रेन डे अरागुआ’ गिरोहका सदस्यलाई आश्रय दिएको आरोपमा प्रमाण नष्ट गरेको अभियोग लगाइएको छ।